दुर्गा प्रसाईं, रविन्द्र मिश्रलगायतलाई थप सात दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते घटेको घटनामा संलग्न आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २४ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईं, रविन्द्र मिश्रसहितका प्रतिवादीहरुलाई थप ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
यसअघि अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ भने मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ ।
मिश्र १५ वैशाखमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छाडेको थियो ।