अमेरिकाबाट फिर्ता भएका चार जना भुटानी शरणार्थीलाई थुना बाहिर राख्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल चार भुटानी शरणार्थीलाई बन्दीगृहमा नराख्न आदेश दिएको छ ।

झापामा प्रहरी हिरासतमा रहेका चार जना भुटानी शरणार्थीलाई बेलडाँगी शरणार्थी शिविर वा अन्य ठाउँमा राखेर अनुसन्धान गर्न बिहीबार सर्वोच्च अदालतले आदेश दिएको हो । न्यायाधशीहरू बालकृष्ण ढकाल र नित्यानन्द पाण्डेयको इजलासले उनीहरुलाई शिविर वा अन्य उपयुक्त स्थानमा राख्न आदेश दिएको हो ।

अध्यागमन विभागले आशिष सुवेदी, रोशन तामाङ, सन्तोष दर्जी र अशोक गुरूङमाथि अनुसन्धान गरिरहेको थियो ।

आदेशमा भनिएको छ, ‘निवेदकहरू संयुक्त राज्य अमेरिका जानु अगाडिको झापा बेलडाँगी शरणार्थी शिविर वा अन्य उपयुक्त स्थानलाई स्थान हद तोकी निवेदकहरूलाई हाल राखेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट स्थान हद तोकिएको उपयुक्त स्थानमा स्थानान्तरण गर्नु ।’

इजलासले उनीहरूमाथि अनुसन्धान गर्दा जे जस्तो विषय बुझ्नुपर्ने भए पनि ६० दिनभित्र सम्पन्न गर्न भनेर आदेश जारी गरेको छ । आशिष, रोशन र सन्तोष चैत १६ गते बेलडाँगी शिविरबाट पक्राउ परेका थिए। अशोक चैत १९ देखि काँकडभिट्टाबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अध्यागमन विभागलाई बुझाएको थियो।