शिक्षालाई वृहत्तर देश विकासको कडीको रुपमा हेरौँ, राजनीतिबाट टाढा राखौं
-सुमना श्रेष्ठ ।
मेरा विद्यार्थी भाइबहिनीहरू–हामी राजनीति गर्नेहरूको अकर्मण्यताले निम्त्याएको अहिले परीक्षाबारेको अनिश्चितताले तपाईँहरूलाई कति तनाव दिएको होला, १२ को परीक्षा समयमा नभए पछि उच्च शिक्षाको तालिका पनि खल्बलिन्छ, यो ब्याचको एक वर्ष नै खेर जाने सम्भवना छ । तपाईँहरूको इमेल सन्देशहरूमा पोखिएको निराशा देख्छु, हामीले तपाईँहरूको पुस्तामाथि न्याय गर्न सकेनौं, त्यसको लागि म क्षमा माग्न चाहन्छु ।
देश बनाउने भनेर आएका हामी कहिलेसम्म हाम्रा विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने, कहिलेसम्म शिक्षकहरूलाई प्रयोग गरेर आफ्नो स्वार्थपूर्ति गराइरहने, कहिले सम्म चुनाव जित्ने भर्याङ्ग बनाइराख्ने, केको लागि मोलमोलाई ? हाम्रो राजनीति, शिक्षा नीति त विद्यार्थीलाई केन्द्रमा राखेर हुनु पर्ने हैन, के गरिरहेका छौँ हामीहरू ?
शिक्षाको सुधार लागि बजेट छैन ?
कुनै पनि परियोजना अघि बढाउन अगाडि त्यसको मध्यकालिन र दीर्घकालिन उपादेयता हेर्नु पर्यो । हरेक तहको सरकारमा बसेकाहरूले अर्को चुनावमा आफूलाई लाभ हुने ध्येय मात्र हेरेर भएन। परियोजनाले देशलाई नै फाइदा हुनुपर्यो, घोषणा गर्ने नेतालाई मात्र हैन । नेताकै गृह जिल्लामै मेडिकल कलेज चाहिन्न,एक पालिका एक प्राविधक शिक्षालय, हरेक पालिकामा एयरपोर्ट, नेताको नामको भ्यूटावर, हरेक सेवा समुहलाई आफ्नै अस्पताल–यी भोटर रिझाउने नारा, परियोजना राज्यस्रोतको उचित उपयोग हुन् ? गिने चुनेको तथ्याङ्कको भरमा हैन, हाम्रो अर्थतन्त्रको खास अवस्था के छ? सबैलाई बुझाउनु पर्यो, त्यही अनुसारको मात्र सपना बाढ्न पर्यो।
शिक्षामा सुधार गर्न अमूर्त भाषणहरू हैन, चरणबद्ध रुपमा समयसीमा तोकर यो यो काम गर्छु, यो भिजनका साथ सुधार गर्छु भन्न सक्नु पर्यो । यसमा म सघाउन तयार छु । अतिरिक्त बजेट नलाग्ने सुधारहरू पनि छन्–शिक्षक सरुवा, बढुवा जस्ता सामान्य प्रक्रियाको पनि शिक्षकहरूले दल र नेता गुहार्न पर्ने, आत्मसम्मानलाई दलको दास बनाउन पर्ने परिपाटी अन्त्य गर्न कार्यसम्पादनको आधारमा सबैलाई समान लागू हुने स्वचालित विधि बनाउन सकिन्छ भनेर शिक्षक सरुवा निर्देशिकाले प्रमाणित गरिसकेको छ । शिक्षक सेवा परीक्षामा घोकन्ते विद्याबाट जोड हटाउने लगायतका शिक्षाविज्ञहरूका धेरै सुझावहरू छन् ।
शिक्षालाई वृहत्तर देश विकासको कडीको रुपमा हेरौँ, राजनीतिबाट टाढा राखौं ।