कैलालीको जनशक्ति सामुदायिक वनमा पाटेबाघ मृत फेला
धनगढी । कैलाली जिल्लाको टीकापुर नगरपालिका-२ स्थित जनशक्ति सामुदायिक वनमा शनिबार पाटेबाघ मृत फेला परेको छ।
सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख दिलीप यादवले जङ्गलमा वयस्क पोथी पाटेबाघ मृत फेला परेको जानकारी दिए। पाटेबाघको अगाडि भागको शरीरमा चोट लागेको पाइएको उनले बताए।
गन्हाएपछि स्थानीयले थाहा पाएर खबर गरेकाले बाघ केही दिनअघि नै मरेको र भाले बाघको आक्रमणबाट घटना भएको हुनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख यादवले बताए। घटनाको थप अनुसन्धानका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट डा. आयुष महर्जनसहितको प्राविधिक टोली घटनास्थल पुगेको थियो।
स्थानीय जनप्रतिनिधिलगायत वन कर्मचारीको रोहबरमा मृत बाघ जमिनमा गाडिएको छ भने थप अनुसन्धानका लागि विभिन्न अङ्ग झिकेर पोस्टमार्टमका लागि पठाएको डिभिजन वन कार्यालयले जनाएको छ।