दाङ र बारामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु


बारा । दाङ र बारामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ भुइँपुलस्थित सडकमा शुक्रार टिपर र कार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

निजगढबाट पथलैयातर्फ जाँदै गरेको प्र२–०३–००१ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको बा०१–०२५च ५०७६ नम्बरको कार आपसमा ठोक्किँदा कारमा सवार सर्लाहीको बरहथवा नगरपालिका–१५ हजरिया निवासी ४६ वर्षीय नारायणहरि शर्मा र तत्काल नाम, थर, वतन नखुलेका कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै जनाको प्रसूति अस्पताल निजगढ बारामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए । टिपर चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

त्यस्तै, दाङमा शुक्रबार साँझ बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

दश जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ति गाउँपालिका–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

घाइतेको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ ।