आन्दोलनमा सहभागी हुन प्याब्सन र एन-प्याब्सनलाई शिक्षक महासंघको आह्वान
काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ ।
महासंघले विज्ञप्ति जारी गरी वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो ।
शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।
काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ ।
महासंघले प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ । चैत २० गतेबाट शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।