अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते
बुटवल । अर्घाखाँचीको मालारानीमा आइतबार विहानै भएको दुर्घटनामा परि दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार सन्धिखर्कबाट गुल्मीको तम्घासतर्फ गइरहेको जिप मालारानी गाउँपालिका वडा नम्बर ३ ढुंङ्गाडेमा दुर्घटना भएको हो ।
विहान पौने ४ बजेतिर भएको उक्त दुर्घटनामा परि जिप चालक मालारानी ४ का २२ वर्षीय दिलीप खनाल र जिपमा सवार बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मालारानी गाउँपालिका वडा नं. ४ लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जिप अनियन्त्रित भई सडकबाट दुईसय ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा विहान ६ बजेतिर मृत्यु भएको थियो । दुर्घटनामा परि जिपमा सवार मालारानी ४ कै १७ वर्षीय भुवन पोखरेल र बसन्त पोखरेल घाइते भएका छन्।