बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न खोजेपछि महानगरमा तनाव
काठमाडौं । काठमाडौं महानगरपालिकाबाट निलम्बनमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं महानगर पुगेका छन् । बिहीबार महानगर पुगेका गुरागाईंलाई कर्मचारीहरूले स्वागत गरेका थिए ।
नगरप्रहरीले उनलाई कार्यालय प्रवेशमा रोक लगाएपनि नगरप्रहरीको घेरा तोडेर उनी कार्यालय प्रवेश गरेका छन् । उनलाई कर्मचारीहरूले सहयोग गरेका थिए ।
गत पुस १४ गते निलम्बनमा परेका गुरागाईं आज कार्यालय गएका हुन् । काठमाडौं टावरको नक्सा अनियमित तवरले गरेको आरोपमा गुरागाईंलाई मेयर बालेन साहले कार्यालयमा उपस्थित हुन रोक लगाएका थिए । त्यसयता महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन छ ।
मेयर साहले संघीय सरकारलाई पत्राचार गरेपनि प्रमुख प्रशासकीय अधिकृत पठाएको थिएन । प्रमुख प्रशासकीय अधिकृत नहुँदा कर्मचारीले तलब समेत खान पाएका छैनन् ।