दुर्गा प्रसाईंलाई किन कार्यक्रमस्थलबाट पक्राउ गरिएन ? यस्तो छ प्रहरीको जवाफ
काठमाडौं । प्रहरीले गत शुक्रबार काठमाडौंको तिनकुनेमा उत्तेजित भिडलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डीआईजी दिनेश आचार्यले भिड नियन्त्रणमा लिन गोली चलाउनु परेको बताएका हुन् ।
उनले भिड उत्तेजित भएपछि दिउँसो २ः५४ बजे गोली चलाएको बताए । प्रवक्ता आचार्यले विद्यार्थी रेविका खत्रीमाथि झुक्किएर गोली लागेको बताए । भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजु दिनेशमाथि परेको बताए ।
पत्रकार सम्मेलनमा प्रवक्ता आचार्यले ठूलो भिड भएकाले दुर्गा प्रसाईंलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न नसकिएको बताए । उनले भने, ‘ठूलो भिड भएका कारण दुर्गा प्रसाईँलाई कार्यक्रम स्थलबाट पक्राउ गर्न सम्भव भएन ।’ उनले प्रसाईंको खोजी कार्य जारी रहेको र केही दिनमै सफलता पाउने विश्वासमा आफूहरू रहेको बताए ।
उनले घटनामा २ महिला र १८ पुरुष गरी २० जनालाई गोली लागेको र ५८ राउन्ड गोली प्रहार गरेको जानकारी दिए । त्यस्तै ७४६ राउन्ड अश्रु ग्यास प्रहार गरेको बताए ।