हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ !
-नारायण गाउँले ।
हाम्रो पुस्ता जिन्दावाद र मुर्दावादकै लागि जन्मिएको रहेछ । एकले अर्कालाई दास भन्यो, दलाल भन्यो, पाल्तू भन्यो, दाह्रा किट्यो । इतिहासलाई गाली गर्यो, वर्तमानलाई गाली गर्यो, छिमेकीलाई गाली गर्यो, अमेरिकादेखि बेलायतसम्म सबैलाई गाली गर्यो । हुँदाहुँदा सुनिता विलियम्सहरू अन्तरिक्ष बसेर आउँछन्, तिनको एउटा फोटो टाँस्यो अनि पालैपालो विज्ञान र धर्मलाई गाली गर्यो । आफूले न विश्वलाई कामलाग्दो एउटा प्रविधि दिनुछ, न मेडिसिनमा एउटा आविष्कार दिनु छ । न दिनेहरू प्रति सम्मान छ । तैपनि आफै ठूलो, आफै वीर भन्यो ।
सबैभन्दा उत्कृष्ट नागरिक छानेर डाक्टर पढायो निर्यात गर्यो, इन्जिनियर पढायो निर्यात गर्यो । सिद्धान्त र वादहरू आयात गर्यो । त्यसैमा ठूलोसानो भन्दै झगड़ा गर्यो, गोत्र तोक्दै पानी बाराबार गर्यो, बस्यो । न सुन्नु छ, न सुन्ने धैर्य छ । न बुझ्नु छ, न बुझ्ने धैर्य छ । आफू हुँदा सबै ठीक छ । आफू हट्यो कि बर्बाद भयो भन्यो, सक्कियो भन्यो । डुबी नै सक्यो भन्यो । त्रास छर्यो, निराशा छर्यो, घृणा छर्यो । डुब्न लागेको भए पो केही गर्नु, डुबी नै त सक्यो, अब के गर्नु, किन गर्नु ?
एउटा छिमेकी विश्वकै ठूलो अर्थतन्त्र बन्ने बाटोमा छ । अर्को छिमेकी लामो फड्को मारेर पाँचौँ ठूलो इकोनोमी बनिसक्यो । विश्वको एक तिहाई जनसङ्ख्या र बजार सीमाक्षेत्रमैं छ । पूँजीदेखि जनशक्ति र प्रविधिदेखि उत्पादनसम्म साँधमैं छ ! यसो हावाले हल्लाउँदा छिमेकी समृद्धिको दुईचार फल हाम्रो कान्लामा खसे पनि पुग्नेजस्तो अवस्था छ ।
देशमा चाहिएको वाद या व्यवस्था होइन । थोरै सिर्जनशीलता, थोरै आशा, थोरै उत्साह, थोरै सकारात्मकता, थोरै ईमान, थोरै कूटनीति र थोरै दूरदृष्टि हो । हामीले बाँचेको औसत जीवन विश्वभर यस्तै हो । चाहिएको ओठमा हाँसो र पाखुरामा ऊर्जा हो । सबैले आफ्नो काँधको जिम्मेवारी अलिकति मात्रै पूरा गरे पनि पुग्छ । तर यत्ति पनि कसले गरोस् । जे जानेको छ, गर्ने त्यही हो । आफ्नो आङ् नाङ्गो राखेर कपडा जति झण्डा र ब्यानरमा लगायो अनि जिन्दावाद र मुर्दावाद भन्यो, बस्यो । भएजति जनसङ्ख्यालाई दलाल र शत्रु भन्यो, बस्यो । देश बन्दै बन्दैन भन्यो, बस्यो । झण्डा बोक्दैमा कुन देश बनेको होला र ?