समाजवादी मोर्चाले कार्यक्रम राखेका कारण ठूलो दुर्घटना हुन पाएनः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाले शुक्रबार पचासौं हजार जनता सडकमा उतारेर ठूलो खतरा टारेको दाबी गरेका छन् ।
शनिबार प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले समाजवादी मोर्चाले हिजो कार्यक्रम राखेकै कारण धेरै धनजनको क्षति हुनबाट बचेको बताएका हुन् ।
उनले भने, ‘यदि समाजवादी मोर्चाले पचासौं हजारौं जनता हिजो सडकमा नउतारेको भए धेरै ठूला दुर्घटना हुने खतरा थियो । हामीले हिजो कार्यक्रम राखेकै कारणले धेरै धनजनको क्षति हुनबाट बच्यो ।’
उनले शुक्रबार नेपालको इतिहासमा क्रान्ति र प्रतिक्रान्ति, अग्रगमन र पक्षगमन फेरि एकचोटी नयाँ सन्दर्भसहित आपसमा टुक्रिइरहेको बताए । प्रचण्डले हिजो कार्यक्रम राखेकोप्रति आफूलाई धेरैले बधाई र धन्यवाद सुनाएको पनि बताए ।
उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनतहितमा अगाडि बढ्ने यो सही समय हो । सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरुलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’
मोर्चाले शुक्रबार काठमाडौंको. भृकुटीमण्डपमा खबरदारी सभा राखेको थियो । यता राजावादी समूहले भने तीनकुनेमा जनप्रदर्शनको कार्यक्रम राखेका थिए । राजावादी समूहको उक्त कार्यक्रम विथोलिँदा ठूलो जनधनको क्षति भएको छ ।