पूर्वराजा ज्ञानेन्द्रले अधिराजकुमार हुँदाका समयमा नै राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेका थिएः महासचिव पोखरेल
काठमाडौं । राजनीतिक दलका नेताहरुमा यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहप्रति अमर्यातित टिप्पणी गर्ने होडबाजी नै चलेको छ ।
यसैक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह अपुतालीको राजा भएको टिप्पणी गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइने उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘पूर्वराजा ज्ञानेन्द्र अधिराजकुमार हुँदाका समयमा राष्ट्र र जनतालाई गम्भीर हानी पुग्ने आपराधिक काम गरेको विषयलाई पूर्वपञ्चहरुले नै सोही समयमा सार्वजनिक गरेका तथ्यहरु पढ्न पाइन्छ । अहिले आएर स्वार्थको रोटी सेक्नका लागि पूर्वपञ्चहरुले उनको गुनगान गाउनु बेग्लै कुरा हो । तर आमजनताले त उनी अपुतालिमा राजा हुँदा समेत असहज मानेकै हुन् ।’