नेपालको गाईजात्रे कूटनीति
रमेशनाथ पाण्डे ।
अन्ततः प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपतिलाई फोन गरेर हमासले बन्धक बनाएका विद्यार्थी विपिन जोशीको रिहाइका लागि आग्रह गरेको जानकारी सार्वजनिक गर्नु भएको छ । ओलीको यो पहल ठीक थियो तर धेरै नै ढिलो आयो । १७ महिनादेखि अकारण आफ्नो नागरिकलाई बन्धक बनाउँदा पनि छुटाउन प्रभावशाली कुटनीतिक सिप देखाउन नसक्नु अन्तर्राष्ट्रिय मामिलामा दक्षिण एसियामा सबैभन्दा लामो इतिहास भएको देशको लागि संकोचको कुरा हो ।
यो १७ महिनामा राष्ट्रपतिले असम्बन्धित जर्मन राष्ट्रपतिलाई, प्रधानमन्त्रीले इजिप्टका घटनाक्रमले उछिनिसकेका राष्ट्रपतिलाई, सभामुखले साउदी अरेबियाका सभामुखलाई र परराष्ट्रमन्त्रीले राष्ट्रसंघ महासभालाई गुहारेपछि नेपालको कूटनीति संचालन गाईजात्रे साबित भयो । मानवीय संवेदनशीलता तथा विश्व समुदायमा नेपालको हैसियत जोगाउने अभिभारा झाराटाराइमा बिसाइयो । नेपाल सरकारको अर्को त्रुटि हमास माथि निर्णयात्मक प्रभाव पार्नसक्ने देशको पहिचान गर्न नसक्नु थियो ।
मैले १५ महिनादेखि सामाजिक संजालहरुमा लेखेर र प्रमुख टेलिभिजन अन्तर्वार्ताहरुबाट यो त्रुटि सच्याउन सल्लाह दिँदै टर्की, कतार र इरानको सहयोग लिन आग्रह गरेको हुँ । तर अमिरको राजकीय भ्रमणमा गर्नै नहुने त्रुटिपूर्ण व्यवहारले कतारसँग र तेहरानस्थित नेपाली दूतावास बन्द गरेपछि इरानसँगको सम्बन्धमा बरफ जम्यो । यसैले कतार र इरान सहयोगी भएनन् । हमासको मुख्यालय रहेको टर्कीको सहयोगले विपिनलाई रिहा गराउन सकिन्छ । तर यसकालागि सम्बन्धमा वर्जित बेवास्ताले चिस्साएको र लामो समयदेखि नविनीकरण नगरिएको दुई पक्षीय सम्बन्धलाई सजिव बनाउन कूटनीतिक कौशल अनिवार्य हुन्छ ।
कांग्रेस प्रधानमन्त्री हुँदा २०१४ अप्रिल २३ मा टर्कीका प्रधानमन्त्रीले विश्व समुदायलाई नेपालको आध्यात्मिक श्रेष्टता स्मरण गराउँदै नेपाललाई विश्व आर्थिक र मौद्रिक मामिलामा प्रभावशाली जी २० समूहमा भित्राउने प्रस्ताव गर्नु भएको थियो । तर आत्मकेन्द्रित नेतृत्वले यो सद्भावलाइ उपेक्षा गर्याे, कृतज्ञता व्यक्त गर्ने शिष्टाचार पनि देखाएन । यसवाट टाढिएको टर्कीसँग सहयोगको आग्रह गर्दा प्रधानमन्त्री ओलीले विगतको त्रुटि सच्याउने वाक कौसल समझेको भए, सद्भाव ब्युँझाउने कुटनीतिक सिप देखाएको भए सुखद परिणामको आशा गर्न सकिन्छ ।