कुलमान बर्खास्तप्रति कांग्रेसका दुई महामन्त्रीको प्रतिक्रियाः मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो, तर विडम्बना त्यो भएन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति नेपाली कांग्रेसका दुई महामन्त्रीले आपत्ति जनाएका छन् ।
सोमबार राति सामाजिक संजालमार्फत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको निर्णय गलत भएको बताएका हुन् । महामन्त्री थापाले मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्नेमा त्यसो नभएको बताएका छन् ।
थापाले सामाजिक संजालमा लेखेका छन्,’’आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाहिँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ,सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।’
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सरकारको निर्णयप्रति विमती जनाएका छन् । उनले भनेका छन्, ‘कुलमान घिसिङलाई पदबाट हटाउन काँग्रेस पदाधिकारी तहको सहमति थिएन । बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिकरुपमै सजग गराइएको थियो । कारबाही योग्य केही भए, पछि पनि गर्न मिल्थ्यो । केही राम्रा प्रयास छायाँमा पार्नेगरी सरकारले कुलमान हटाउनु हुन्न थियो । सरकारको यो निर्णय समयोचित विल्कुलै भएन । यसप्रति खुला र प्रष्ट रूपमा विमति छ ।’