राजावादीको चलखेलकाबारेमा राष्ट्रपति पौडेल र प्रचण्डबीच छलफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
सोमबार दिउँसो शीतल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । पछिल्लो समय पूर्वराजाको समर्थनमा नारा जुलुस प्रदर्शन बढेपछि दलहरु सशंकित देखिएका छन् ।
प्रचण्डले त पूर्वराजालाई पक्राउ गर्नुपर्नेसम्मको अभिव्यक्ति दिएका छन् । समाजवादी मोर्चाले राजावादीको प्रदर्शनलाई काउन्टर दिन चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको छ भने एमालेले पनि देशभर गणतन्त्रका पक्षमा कार्यक्रम गर्ने तय गरेको छ ।
यता पूर्वराजा ज्ञानेन्द्र शाह भने मठ मन्दिरमा दर्शनमा व्यस्त देखिएका छन् । प्रचण्ड र राष्ट्रपति पौडेलबीच पनि यही विषयमा कुराकानी भएको अनुमान गरिएको छ ।
राष्ट्रपति पौडेल पनि राजावादीको चलखेलप्रति असन्तुष्ट देखिएका छन् । सोमबार सोलुखुम्बु पुगेका राष्ट्रपति पौडेलले स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको उल्लेख गर्दै नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताएका छन् ।