२५ हजार घुससहित पोखरा महानगरका कर्मचारी पक्राउ
गण्डकी । पोखरा महानगरपालिकाका शाखा अधिकृत कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् । महानगरको उजुरी फछ्र्यौट शाखामा कार्यरत प्रशासकीय अधिकृत गिरी २५ हजार रुपैयाँ घुससहित बिहीबार दिउँसो महानगरकै कार्यालय नजिकैबाट पक्राउ परेका हुन् ।
अख्तियारमा उजुरी परेको छ मिलाइदिन्छु भन्दै गिरीले अर्का एकजना कर्मचारीसँग १ लाख रुपैयाँ मागेकोमा २५ हजार सहित उनी पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।
अख्तियारले सोधेका स्पष्टीकरणको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवारीमा रहेका गिरीले महानगरकै अर्का कर्मचारीसँग तिम्रोविरुद्ध अख्तियारमा उजुरी छ म मिलाइदिन्छु भनी घुस मागेका थिए ।