राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्छौंः प्रधानसेनापति सिग्देल
धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति सिग्देलले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारे ।
सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताए । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उनले भने ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताए ।
“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उनले भने ।