सेनाका कुरा
-सुरेश आचार्य
चालू संविधान आएदेखि नेपालको सैनिक संगठन स्वतन्त्र निर्णय गर्न सार्वभौम छ कि छैन भन्ने अहिले उठिरहेको अहम् प्रश्न हो । नेपाली सेनाको विज्ञप्तिले देश र जनताको हितकाबारे सेनालाई निर्णय गर्ने अधिकार छ भन्ने संकेत गरेको छ । यो सेनाको सैद्धान्तिक धारणा हो, तर सेनाले केही पूर्वाधार निर्माण र प्राकृतिक विपत्तिमा बाहेक अन्तराष्ट्रिय सिमाना र राज्य आतंक एवं विप्लवका अवस्थामा आफ्नो संवैधानिक क्षेत्राधिकारमा प्रवेश गरेर कति कर्तव्य बहन गरेको छ, मूल प्रश्न, यो हो ।
नेपाली सेनाको विज्ञप्तिले ऊ कार्यकारिणी (सरकार) को अंग होइन, ऊ राज्यको स्वायत्त संवैधानिक संगठन हो भनेर नेपाली जनताले बुझ्ने भाषामा प्रष्ट पारेको छैन । सबैले बुझ्नु पर्छ, नेपाली सेना सरकार (कार्यकारिणी) को अंग होइन । सैनिक संगठनले संविधान विपरित आफूलाई कार्यकारिणीको सहायक अंग ठानिरहेको देखिन्छ । त्यो हुँदै होइन, नागरिक सरकार विफल भएर राष्ट्रिय सुरक्षा खतरामा परेमा सेनाको भूमिका सुरू हुन्छ । यही हो, संसारभरीका वैधानिक सेनाको कर्तव्य र दायित्व ।
अहिले नेपाली सेनाको परमाधिपति नेपालका राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । स्वय राष्ट्रपति र राष्ट्रपतिको कार्यालय नेपाल सरकारको अंग होइन, यो पृथक संवैधानिक निकाय हो । त्यसकारण राष्ट्रपति वा राष्ट्रपतिको कार्यालयले नेपाल सरकारको निसाना छाप प्रयोग गर्दैनन् । यस अर्थमा, नेपाल सरकारको मन्त्रिपरिषद वा प्रशासनिक निकायले जनता र देशको हित नगरेमा, कुशासन र लूटतन्त्र मच्याएमा, न्याय मरेर गएमा, संसद जनताप्रति जवाफदेही नभएमा, कथम् सिमाना सम्बन्धी विवाद उत्पन्न भएमा वा गतिरोध आएमा वा सरकारले नेपाली जनताको अधिकारप्राप्ति र परिवर्तनको आकांक्षालाई कुण्ठित, कुठाराघात वा दमन गरेमा नेपाली सेनाले सरकारलाई सचेत गराउन सक्छ । सेनाले यी अधिकारहरूको प्रयोग र प्रतिरक्षा गर्न, नेपालको संविधानले रोकेको छैन ।
मूल कुरा, नेपाली सेना कार्यकारिणी (वा सरकार) को पिछलग्गू वा आदेशपालक होइन । त्यसकारण सेनाको छुट्टै छाप हुन्छ, उसले पनि राष्ट्रपतिले झैं नेपाल सरकारको निसाना छाप प्रयोग गर्दैन । नेपाली सेनाले राजनीतिक कारणले आफ्ना पूर्व परमाधिपतिहरू राजा ज्ञानेन्द्रवीरविक्रम शाह, पूर्व राष्ट्रपतिहरू डा. रामवरण यादव र विधादेवी भण्डारी निषेध र असमान व्यवहार गर्न सक्तैन । राष्ट्रपतिले परमाधिपतिको हैसियतमा दिएको आदेश बाहेक संविधानले नेपाली सेनालाई दिएका अधिकार, जिम्मेवारी र कर्तव्य, नेपाली सेनाले स्वायत्त, स्वचालित र निर्वाध रूपमा बहन गर्नुपर्छ ।