बेचन झाको बन्दी प्रत्यक्षीकरण रिट खारेज
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालत खारेज गरिदिएको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले रिट खारेज गरिदिएको हो ।
गत माघ २ गते झाले थुनामुक्तको माग गर्दै निवेदन दायर गरेका थिए । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्न झाको पनि संलग्नता रहेको आरोपमा प्रहरीले गत असार १३ गते उनलाई पक्राउ गरेको थियो ।
उनीविरुद्ध चार कसुरमा मुद्दा दायर भएको थियो । झासमेतका प्रतिवादीहरुले २८ करोड ८१ लाख ७४ हजार ५ सय रूपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।
उनलाई राष्ट्र हित प्रतिकूलको कसुरमा ५ वर्ष कैद र ५० हजार जरिवाना, ठगीको कसुरमा ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना, किर्तेको कसुरमा ७ वर्ष कैद र ७० हजार जरिवाना, संगठित अपराधमा ५ वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको माग गरिएको छ ।