सर्लाहीको मलंगवाका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न सरकारको निर्देशन
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको मलंगवामा १९ वटा स्वास्थ्यसंस्था अनुगमन गर्दा १५ वटा अनाधिकृत रुपमा सञ्चालनमा रहेको पाइएको छ । ती १५ वटैलाई बन्द गर्न मधेस सरकारले निर्देशन दिएको छ ।
मुख्यमन्त्री सिंहसहितको टोलीले सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकहरूको बिहीबार साँझ अनुगमन गरेको थियो । त्यसक्रममा अवैधानिक तथा अनाधिकृत रूपमा सञ्चालनमा रहेको पाइएका १५ वटा स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न निर्देशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।
अनुगमनपछि मुख्यमन्त्री सिंहले भनेका छन्, सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालसहित १९ वटा निजी अस्पताल र पोलिक्लिनिकको बिहीबार अनुगमन गरेको छु । जसमा अवैध तथा अनाधिकृत ढंगले सञ्चालनमा रहेका १५ वटा स्वास्थ्योपचार गर्ने संस्थालाई बन्द गर्ने निर्देशन दिएको छु । सेवा सञ्चालन अनुमति प्राप्त गरेका तीनवटा संस्थालाई दुई महिनाभित्र नवीकरण गराउने निर्देशन दिएको छु । प्रादेशिक अस्पतालले बिरामीलाई खुवाउने खाना स्वच्छता कायम गर्न, रोस्टरअनुसारका जनशक्ति आकस्मिक लगायत सेवामा व्यवस्थापन गर्न र अन्तरङ्ग विभागमा लेखिएका एम्बलेन्स चालकको नम्बर मेट्न लगायतका निर्देशन अस्पताल प्रशासनलाई दिएको छु ।’
अनुगमनपछि जयश्री ओम हेल्थ केयर प्रालि, तिरुपति बालाजी पोलिक्लिनिक प्रालि र ब्रह्मभूमि हेल्थ रिसर्च प्रालिलाई दुई महिनाभित्र नवीकरण गर्न निर्देशन दिइएको हो । म्याक्स हस्पिटल, मिथिला डेन्टल क्लिनिक, दिनकर अस्पताल, रामावतार पेन पारालाइसिस सेन्टर, क्ल्याण हेल्थ केयर, शीतल डेन्टल केयर प्रालि, चन्द्रकला पोलिक्लिनिकलाई बन्द गर्न निर्देशन दिइएको छ ।
यसैगरी इन्डो नेपाल आँखा अस्पताल, कान्तिपुर डेन्टल एवम् एक्स–रे क्लिनिक, प्रेमा हेल्थ क्लिनिक, सर्लाही कम्युनिटी हेल्थ केयर प्रालि, गुप्ता क्लिनिक प्राथमिक उपचार केन्द्र, सर्लाही पोलिक्लिनिक, सिद्धीदाता हेल्थ केयर प्रालि र देवश्री पोलिक्लिनिक प्रालिलाई पनि मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएका छन् ।
प्रदेश स्वास्थ्य तथा जनसंख्या जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार, प्रादेशिक अस्पतालमा बिरामीहरूलाई खुवाउने खाना समेत अस्वस्थकर पाइएको छ । त्यसपछि मुख्यमन्त्री सिंहले अस्पताल प्रमुखलाई क्यान्टिन परिवर्तन गर्न निर्देशनसमेत दिएका छन् ।