सर्लाहीमा नक्कली नोट बनाउने गिरोह पक्राउ
जनकपुरधाम । नक्कली नोट बनाउने गिरोहलाई सर्लाहीमा प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको मलङ्गवा नगरपालिका–८, गोरखकाली नाकाबाट नक्कली नोटसहित नोट बनाउने कार्यमा संलग्न पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरका ४२ वर्षीय खुर्सैद भन्ने सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९, चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७, बैरियाका ४८ वर्षीय दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, का ५० वर्षीय रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२, कै ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन् ।
भारततर्फबाट आइरहेको मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा खानतलासी गर्दा नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।
प्रहरीले उक्त गिरोहको साथबाट नेपाली नक्कली एक हजार दरको एक/एक वटा नोट राखी बिचमा सेतो पेपर राखेर बनाइएको ८८ थान बण्डलमा नक्कली नेपाली रुपैयाँ १७६ थान (एक लाख ७६ हजार रुपियाँ) बरामद गरेको छ ।