निर्माण भएको तीन वर्षपछि प्रयोगमा आउँदै ‘धनगढी सभागृह’


गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण भएको झण्डै तीन वर्षपछि धनगढी सभागृह प्रयोगमा आउने भएको छ ।

यही फागुन २५ (भोलि) गते प्रधानमन्त्री केपी शर्मा ओलीले सभागृहको उद्घाटन गर्ने कार्यक्रम रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइका सूचना अधिकारी पुष्पराज भट्टले जानकारी दिए ।

२८ करोडभन्दा बढीको लागतमा निर्माण भएको सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा अलपत्र प्रयोग हुनसकेको थिएन । हालै कार्यविधि तथा मापदण्ड बनेपछि क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइ धनगढीले धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको हो ।

यसअघि उपमहानगरले सभागृहमा आवश्यक फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगरिएकाले स्वामित्वमा लिन मानेको थिएन । सूचना अधिकारी भट्टकाअनुसार फर्निचर र ‘साउण्ड सिस्टम’ जडानका लागि चालु आर्थिक वर्षमा रु दुई करोड १५ लाख बजेट विनियोजन भई ठेक्कासमेत लागेर धमाधम काम भइरहेको छ ।

सभागृह डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लागतमा निर्माण गरिएको हो । विस २०७९ असारमा भवन निर्माण, रङरोगन र विद्युत् जडानलगायत सम्पूर्ण मुख्य काम गरी निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको थियो ।

नौ सय जना क्षमताको सभागृहमा मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सल’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।

निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा काम सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको थियो । प्रदेशको अस्थायी मुकाम धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनारजस्ता ठुला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर सभागृह बनाइएको हो ।

यसको सञ्चालनले महँगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।