आइजज अहमद खान, क्यानडा
हरेक वर्ष, जब पवित्र रमजान महिनाको आगमन नजिकिन्छ, संसारभरिका मुस्लिमहरू खुसीसाथ प्रतीक्षा गर्छन्, ताकि इस्लाम धर्मका पाँच आधारभूत स्तम्भहरूमध्ये चौथो स्तम्भ—उपवास—पालन गर्ने अवसर प्राप्त होस् । हरेक वर्ष रमजानको आगमनले चासो र जागरूकता ल्याउँछ, जसले विभिन्न प्रश्नहरू जन्माउँछ—उपवास वास्तवमै के हो ? के यो कठोर साधना मात्र हो, वा नैतिक, शारीरिक, र आध्यात्मिक विकासको आश्वासन दिने धार्मिक अनुशासन हो ? के यो इस्लामद्वारा नयाँ प्रचलनका रूपमा स्थापित गरिएको अभ्यास हो ? र इस्लाममा उपवासको वास्तविक अवधारणा के हो? रमदान महिनाको आफ्नै महत्त्व के हो, र यस महिनामा एक मुस्लिमले हासिल गर्न खोज्ने लक्ष्यहरू के हुन् ?
व्रत भनेको के हो ?
सबैभन्दा पहिले, व्रतलाई सामान्यतया ‘धार्मिक आस्था अनुरूप सबै प्रकार वा केही प्रकारका खाना वा पेय पदार्थबाट टाढा रहने प्रक्रिया’ भनेर परिभाषित गरिन्छ। सिद्धान्ततः यो परिभाषाले व्रत राख्ने कार्यलाई वर्णन गर्छ, तर यसको गहिराइ र सारलाई पूर्ण रूपमा समेट्न असमर्थ छ। विश्वका विभिन्न धर्महरूमा व्रतको समावेशले देखाउँछ कि यसको दायरा केवल भोजन र पेय परहेजभन्दा धेरै व्यापक छ ।
इतिहासमा, व्रतलाई सामाजिक, नैतिक, वा राजनीतिक सिद्धान्तहरूको उल्लङ्घनको विरोधको रूपमा पनि प्रयोग गरिएको छ। उदाहरणका लागि, महात्मा गान्धीले आफ्ना राजनीतिक प्रतिस्पर्धीहरूमा नैतिक दबाब सिर्जना गर्न व्रतलाई प्रभावकारी हतियारको रूपमा प्रयोग गरे, जुन प्रायः सफल र व्यापक रूपमा प्रचारित हुने गथ्र्यो। तर, सामान्य रूपमा, विश्वका धर्महरूले व्रतलाई आत्मचिन्तन, नैतिक अनुशासन, र आध्यात्मिक उन्नतिको माध्यमका रूपमा लिएका छन्।
इस्लाममा व्रतको सार
इस्लाममा व्रतको अभ्यास केवल शारीरिक अभ्यास मात्र होइन, बरु यो आध्यात्मिक अभ्यास पनि हो, यसको परम उद्देश्य भनेको आफ्नै जीवनलाई परमेश्वरका आदेशहरू अनुरूप सञ्चालन गर्दै उहाँको खुशी प्राप्त गर्नु हो । यदि कुनै मुस्लिमले केवल बाह्यरूपमा व्रतका आवश्यकताहरू पूरा गर्छ भने, तिनीहरू केवल आफूलाई भोकै र तिर्खै बनाउन सफल हुनेछन्, त्यसभन्दा बढी केही हुने छैन। इस्लाममा व्रतको वास्तविक सारलाई स्पष्ट गर्दै, प्रतिज्ञात मसीह र अहमदिया मुस्लिम समुदायका संस्थापक हजरत मिर्जा गुलाम अहमद (अ.स) भन्नुहुन्छः
‘उपवास केवल भोकै र तिर्खै बस्नु मात्र होइन; बरु यसको वास्तविकता र प्रभाव केवल अनुभवबाटै प्राप्त गर्न सकिन्छ। मानव स्वभाव नै यस्तो छ कि जति कम खान्छ, उति नै उसको आत्मा शुद्ध हुन्छ र यसरी उसको ‘आध्यात्मिक’ दर्शन गर्ने क्षमता बढ्छ। परमात्माको इच्छा भनेको एक प्रकारको आहार घटाउनु र अर्को प्रकारको आहार बढाउनु हो । उपवास गर्ने व्यक्तिले सधैं यो कुरामा सचेत रहनुपर्छ कि ऊ केवल भोकै बस्नका लागि बाध्य छैन। यसको विपरित, उसले परमात्माको स्मरणमा संलग्न रहनु पर्दछ, जसले गर्दा ऊ सांसारिक इच्छाहरू र मनोरञ्जनका बन्धनहरू तोड्न सक्छ र पूर्ण रूपमा परमात्माप्रति समर्पित हुन सक्छ। त्यसैले, उपवासको महत्व यही हो कि मानिसले एउटा यस्तो आहार त्याग्छ, जुन केवल शरीरलाई मात्र पोषण दिन्छ, र अर्को प्रकारको आहार प्राप्त गर्छ, जुन आत्माको शान्ति र सन्तुष्टिको स्रोत बन्छ।’
अनुचित वाणी र अनुचित कार्यमा लिप्त हुनु इस्लाममा राख्ने व्रत (रोजा) को मूल उद्देश्यलाई नै निष्फल बनाउँछ। यही कारणले इस्लामका पवित्र पैगम्बर (सअ) ले शिक्षा दिनुभएको छः ‘जो व्यक्ति वचन र कर्म दुवैबाट झूट बोल्न छोड्दैन, उसले जान्नुपर्छ कि भगवानलाई उसको खानपानबाट टाढा रहनु आवश्यक छैन।’
यसैगरी, रोजाको उद्देश्य मुस्लिमहरूलाई आफ्ना वासनाहरूलाई नियन्त्रण गर्न सिकाउने र जीवनलाई उत्पादक बनाउन प्रेरित गर्ने हो। यही अभिप्रायका साथ, पवित्र पैगम्बर हजरत मुहम्मद (सअ) ले रोजाबारे एक सरल पाठ सिकाउनु भयोः
‘उपवास एउटा ढाल हो; त्यसैले जब तपाईंमध्ये कसैले उपवास गर्छ, उसले नराम्रो कुरा गर्नु हुँदैन, न त ऊ चिच्याउनु नै पर्छ। यदि कसैले उसलाई गाली गर्छ वा झगडा गर्छ भने, उसले केवल भन्नुपर्छ, ‘म उपवासमा छु, म उपवासमा छु।’
प्रार्थना र आध्यात्मिकताका अतिरिक्त, इस्लाम यस्तो धर्म हो जसले समाजको कल्याणलाई प्रत्येक मुस्लिमको चासोको विषय बनाउँछ। मानवजातिको समृद्धिको लागि प्रयास गर्नु इस्लामले प्रत्येक मुस्लिमको जीवनको हरेक क्षणमा उत्प्रेरित गर्न चाहने एक महत्त्वाकांक्षा हो, र रमजानको उपवासको सार यसै भावनामा निहित छ। उपवासको वरदानहरू र यसका आधुनिक समाजको कल्याणका लागि महत्त्वलाई स्पष्ट गर्दै, इस्लामका खलिफा तथा अहमदिया मुस्लिम समुदायका प्रमुख हजरत मिर्जा मस्रूर अहमद (अबा) भन्नुहुन्छः
‘जब उपवास तक्वा (धार्मिकता) मा आधारित हुन्छ, यसले सुन्दर समाज निर्माण गर्छ र एकअर्काका लागि त्यागको भावना सिर्जना गर्छ। मानिसलाई आफ्नो अभावग्रस्त दाजुभाइहरूको आवश्यकताहरू तर्फ आकर्षित गराउँछ, जुन अत्यन्त महत्वपूर्ण कुरा हो, किनभने रमजान महिनामा पवित्र पैगम्बर (स.अ.) को धन्य आदर्श यस्तो थियो कि उहाँको दान–दक्षिणा र परोपकार आँधीबेहरी जस्तै तीव्र गतिमा वृद्धि गथ्र्यो। यसले समाजबाट चिन्ता हटाउने स्रोत बन्छ र सम्पन्न व्यक्तिहरूमा कम भाग्यशालीप्रति सहानुभूतिको भावना जगाउँछ; साथै, अभावग्रस्त विश्वासिहरूको मनमा आफ्ना सम्पन्न दाजुभाइहरूप्रति प्रेम र कृतज्ञताको भावना उत्पन्न गराउँछ।’
रामदानमा व्रत अनिवार्य छ ?
इस्लामले सबै मुस्लिम वयस्कहरूलाई व्रत गर्न आदेश दिएको छ, किनभने यो एउटा यस्तो धर्म हो जसले प्रत्येक मुस्लिमलाई आध्यात्मिक उच्चता प्राप्त गर्न र परमेश्वरको कृपाका भागीदार बन्न चाहन्छ। तर, इस्लामले यो पनि चाहँदैन कि व्रत गर्न असमर्थ व्यक्तिहरूका लागि यो अभ्यास बोझिलो बनोस्। त्यसैले, रोग वा यात्राका कारण व्रत गर्न असमर्थ व्यक्तिहरूलाई रामजान महिनामा व्रत गर्नबाट मुक्त गरिएको छ, तर पछि छुटेका व्रत पूरा गर्न आवश्यक हुन्छ। त्यस्तै, गर्भवती महिला, महिनावारी भएकी महिला, र दूध खुवाउने महिलाहरूलाई पनि व्रत नगर्न छुट दिइएको छ। यसैगरी, ती मुस्लिमहरूका लागि जो पछि छुटेका व्रत पूरा गर्न सक्दैनन्, उनीहरूलाई ‘फिद्या’ (व्रत गर्न नसकेको क्षतिपूर्ति— गरिब तथा दीनहीनहरूलाई भोजन गराउने) दिनुपर्ने हुन्छ।
यो क्षतिपूर्तिलाई व्रत गर्न नसक्नको सजायको रूपमा हेर्नु हुँदैन, बरु परमेश्वरले उनीहरूलाई स्वयम् व्रत पूरा गर्ने क्षमता र बल प्रदान गरून् भन्ने सानो बलिदानको रूपमा निर्देश गरिएको हो।
इस्लाममा ऐच्छिक व्रतः रमदान
यदि कुनै व्यक्तिले पूर्ण इमानदारीका साथ व्रतको सम्पूर्ण शर्तहरू पूरा गरेर यसलाई अभ्यास गर्छ भने, उसले एक महिनासम्म आफ्ना इन्द्रियहरूको वैध तृष्णा त्याग्न सक्ने भएमा, पक्कै पनि अवैध तृष्णाहरूलाई पनि त्याग गर्ने शक्ति र इच्छाशक्ति प्राप्त गर्छ। यही कारणले गर्दा इस्लाममा व्रत केवल रमदान महिनासम्म सीमित छैन, बरु ऐच्छिक व्रतहरूलाई पनि प्रोत्साहन गरिएको छ।
सर्वशक्तिमान परमेश्वरका पैगम्बरहरू र सन्तहरूले राखेका ऐच्छिक व्रतहरू महान् आशीर्वाद र परमेश्वरका विशेष कृपाका स्रोत भएका छन्। पवित्र पैगम्बर मुहम्मद (स.), प्रतिज्ञा गरिएका मसीह (अ.), येशू (अ.), मूसा (अ.), दाऊद (अ.)— अर्थात् लगभग सबै पैगम्बर र सन्तहरूले ऐच्छिक व्रतहरू राखेका थिए। यसले प्रमाणित गर्छ कि यस्तो अभ्यास परमेश्वरलाई अत्यन्त प्रिय छ र यसले व्यक्तिलाई आध्यात्मिक उन्नतिको विशेष स्थानमा पुर्याउँछ ।
रमदानको व्रत इस्लाममा आस्थाको आधारभूत र न्यूनतम आवश्यकता हो। यसका अतिरिक्त, परमेश्वरको थप कृपा र नजिकिन चाहनेहरूले ऐच्छिक व्रतहरू राखेर आफूलाई साँचो धर्मपरायण सेवकका रूपमा प्रमाणित गर्छन्। यस्तो संघर्ष र बलिदानको बराबर प्रतिफल दिइन्छ। त्यसैले, हदीस–ए–कुद्सी (पवित्र पैगम्बर मुहम्मद (स.) लाई आएको यस्तो दिव्य प्रकाशन जुन पवित्र कुरआनमा समावेश गरिएको थिएन) मा, सर्वशक्तिमान परमेश्वरले भन्नुहुन्छः
‘मेरो सेवक मेरो नजिक आउनको लागि सबैभन्दा प्रिय कुरा भनेको म उहाँलाई अनिवार्य गरेको कुरा हो; र मेरो दासले त्यसपछि अनिवार्यभन्दा बढी स्वेच्छिक प्रयासमार्फत मेरो नजिक जान जारी राख्छ, यहाँसम्म कि म उसलाई विशेष प्रेमसँगे माया गर्न थाल्दछु। जब म उसलाई माया गर्छु, म उस्का कान बनाउँछु जसले उसले सुन्छ, र उसको आँखा बनाउँछु जसले उसले देख्छ, र उसका हात बनाउँछु जसले उसले समाउँछ, र उसका खुट्टा बनाउँछु जसले उसले हिँड्छ। जब उसले मसँग केही माग्छ, म उसलाई दिन्छु र जब उसले मेरो सुरक्षा खोज्छ, म उसलाई सुरक्षा दिन्छु।’
उपवासद्वारा प्रतिज्ञा गरिएका आत्मिक परिणामलाई ध्यानमा राख्दै, उत्साही मुस्लिमहरूलाई उपवास राख्न अनुमति दिइन्छ जबसम्म यो उचित हुन्छ; यद्यपि इस्लाममा शुक्रबार र दुवै वार्षिक ईद उत्सवहरूको जस्ता अत्यन्तै पवित्र र खुशीका अवसरहरूमा स्वेच्छिक उपवास राख्न निषेध गरिएको छ। स्वेच्छिक उपवासहरू मुख्यतः रमजान महिनामा राखिने उपवासहरूको समान तरिकामा र समान उद्देश्यका साथ राखिन्छ।
रमदान महिनाको सारः ‘रमजान’ शब्द अरबी शब्द ‘रमध’ (رمض) बाट आएको हो, जसको अर्थ ‘अत्यधिक तातो’ वा ‘जलाउने’ हो। रमजान महिनाको नाम तीन कारणले यसरी राखिएको छ : जो उपवास राख्छ, उसलाई पिउने पानीको कमीका कारण तातो हुन्छ। यस महिनामा पूजा र भक्ति गर्दा पापका दागहरू समाप्त हुन्छन् । यस महिनामा भक्ति गर्दा मानिसमा आफ्नो सृष्टिकर्ता र साथी प्राणिहरूसँगको प्रेमको आवश्यक न्यानो पाइन्छ । रमजान महिनालाई उपवास र आत्मिक उन्नतिको महिना भनेर चयन गरिएको हो यसको पवित्र कुरानको अवतरणसँगको सम्बन्ध र नजिकको सान्निध्यका कारण। पवित्र कुरानले भन्छ,
‘रमदान महिना त्यो हो जसमा कुरान मानवताका लागि मार्गदर्शनको रूपमा स्पष्ट प्रमाण र भेदभावरहित पठाइएको हो।’
रमदान महिनाका अङ्गः रमजानको समयमा एक मुसलमानको सामान्य दिन सक्रिय, संलग्न र अनुशासित हुन्छ। तल रमजानका केहि अङ्गहरूको सूची दिइएको छ जुन एक मुसलमानले अवलोकन, अभ्यास र अनुभव गर्नको लागि महिना भर र त्यसपछिको समयको क्रममा पर्खिरहेको हुन्छ।
तहज्जुद (स्वेच्छिक) प्रार्थनाः मध्यरात्रि पछि र बिहानको प्रार्थना अघि, बिहानको समयमा व्यक्तिगत रूपमा अर्पण गरिने प्रार्थना।
तरावीह (स्वेच्छिक) प्रार्थनाः राति समुदायमा अर्पण गरिने प्रार्थना। यी प्रार्थनाहरू तहज्जुदको सट्टा अर्पण गर्न सकिन्छ।
सहरी (सुहोर): रोजा सुरु गर्नुभन्दा अघि परम्परागत इस्लामिक भोजन।
इफ्तार (इफ्तारी): रोजा खोलेपछि परम्परागत इस्लामिक भोजन।
दर्स–ए–कुरानः रमजानको समयमा मस्जिदहरूमा पवित्र कुरानका आयतहरूको विशेष उपदेश। यी विशेष उपदेशहरूमा उपस्थित हुँदा कुरानको शिक्षामा गहिरो ज्ञान प्राप्त गर्न सकिन्छ र महिना भरको आध्यात्मिक यात्रा सँगै योगदान पुर्याउँछ।
इतिकाफ (अलगाव): रमजानको अन्तिम दस दिनको क्रममा, प्रायः मस्जिदमा अदा गरिने अभ्यास।
लैलतुल कदर (नियतिक रात): रमजानको अन्तिम दस दिनका विषम रातहरू मध्ये एक विशेष आशीर्वादित रात।
ईद–उल–फित्रः रमजानको समाप्ति चिह्नित गर्ने इस्लामिक पर्व। यो सामूहिक प्रार्थनाले मनाइन्छ र त्यसपछि उपदेश दिइन्छ। मुसलमानहरूले रोजा पूरा गर्नको लागि दिएका बललाई खुशीसाथ मनाउँछन्।
शव्वालको महिनामा रोजाः रमजानपछि शव्वाल महिनामा इच्छायुक्त रोजा राख्न सकिन्छ, जहाँ ईद–उल–फित्रको दिनको पछि ६ दिनको स्वेच्छिक रोजा राख्न सकिन्छ। पवित्र प्रेषित (स) ले भन्नुभएको छ कि जो कोही यसो गर्छ, उसलाई अनन्त रूपमा रोजा राखेको जस्तो पुरस्कार दिइन्छ । ईश्वरले मुसलमानलाई रमदान ब्रतका माध्यमबाट आध्यात्मिक लाभ प्राप्त गर्नका लागि सक्षम पारून् !
अनुवादः डा. गोविन्द

प्रतिक्रिया