रङ्गहरुको पर्व होली सुरु, बसन्तपुरमा ठड्याइयो चीर
काठमाडौं । रङ्गहरुको पर्व होली सुरु भएको छ । शुक्रबार काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याएसँगै होली सुरु भएको हो ।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । यही प्रचलन अनुसार शुक्रबार बिहान मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् ।
साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् । आजै पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर परिसरमा पनि रंगीचंगी कपडा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई÷मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।