राष्ट्रपति पौडेलसमक्ष ६ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न ६ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ छन् ।
समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी थिए । नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।