प्रतिनिधिसभाबाट पाँच अध्यादेश स्वीकृत, भूमिसम्बन्धी अध्यादेश ‘अलपत्र’
काठमाडौं । प्रतिनिधिसभाबाट सरकारले ल्याएका ६ मध्ये पाँचवटा अध्यादेश स्वीकृत भएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले पाँच अध्यादेलाई बहुमतबाट स्वीकृत गरेको हो ।
ओली सरकारले ल्याएको भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशबाहेक अरु पाँचवटा अध्यादेश प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएका हुन् ।
प्रतिनिधिसभाले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवासम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा उत्तरदायित्व अध्यादेश, निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश र सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतगरेको हो । अब ती अध्यादेशहरू राष्ट्रियसभाले स्वीकृत गर्नुपर्नेछ ।
राष्ट्रियसभामा सरकारसँग स्पष्ट बहुमत नभएकाले सरकारलाई समर्थन गरिरहेको जसपा नेपालको सहयोगमा ती अध्यादेशरू स्वीकृत गर्ने तयारी छ । जसपा नेपालले भूमिसम्बन्धी अध्यादेशमा सहमति नजनाएपछि सरकार अध्यादेश पारित गराउन असफल हुने देखिएको छ ।
सरकारले सो अध्यादेशलाई स्वीकृत पनि नगराउने र फिर्ता पनि नलिने मध्यमार्गी रणनीति अपनाउने भएको हो । संसदबाट ६० दिनभित्र अध्यादेश स्वीकृत नभए स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।