खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु



खोटाङ । खोटाङको सदरमुकाम दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने बाँस सम्मेलनको औपचारिक उद्घाटन बिहीबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले गरेका थिए ।

खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनका विभिन्न स्टलहरु माटिकोरे खेलमैदानमा राखिएको छ ।

सम्मेलनका लागि बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी तथा सजावटका सामग्री प्रदर्शनीमा राखिएको छ । सम्मेलनमा स्थानीयदेखि अन्तराष्ट्रियस्तरसम्म व्यापार–व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज र खाद्यान्नका विभिन्न परिकारलगायत गरी ५१ वटा स्टल रहेको आयोजकले जनाएको छ ।

त्यसैगरी मनोरञ्जनका लागि लिङ्गेपिङ तथा रोटेपिङलगायतको व्यवस्था गरिएको सम्मेलनका मुख्य आयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिए ।

बाँस सम्मेलनको उद्घाटन कार्यक्रममा सङ्घीय सांसदहरू, प्रदेशका मन्त्री र सांसदहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुख, जिल्लाका १० वटै स्थानीय तह तथा जिल्ला बाहिरका स्थानीय तहका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सम्मेलनमा जिल्ला बाहिरबाट मात्र तीन सयभन्दा बढी अतिथिको उपस्थिति रहेको छ । बाँस सम्मेलनमा विज्ञहरूबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने नगरप्रमुख भट्टराईले जानकारी दिए ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराका साथ सञ्चालन गरिएको सम्मेलनको आयोजकहरूमा वन तथा प्रशिक्षण केन्द्र बबरमहल, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रिन ब्याम्बो क्रिएसन ललितपुर रहेका छन् । बाँसको प्रवद्र्धन गर्दै यसबाट आयआर्जन गर्ने यस सम्मेलनको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाले पाँच लाख बजेटसमेत व्यवस्थापन गरेको जनाएको छ । प्रथम राष्ट्रिय बाँस सम्मेलनमा अनुमानित रु४७ लाख बराबरको खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ ।

नेपालमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय बाँस सम्मेलनलाई सरकारी तथा गैरसरकारी निकायका एक सय, वन उपभोक्ता समूहका एक सय, विश्वविद्यालय तथा अनुसन्धान केन्द्रका ५० जना र हजारौँ विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

सम्मेलनका अवसरमा बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न र सरकारलाई स्थानीय सामग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न/गराउन खबरदारी गर्ने उद्देश्यले उच्चपदस्थ व्यक्तिलाई बाँसको कुर्सी उपहार दिने निर्णय गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा अत्यधिक मात्रामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिङ्गानो बाँस, निगालो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइने गरेका छन् ।

बाँससम्बन्धी काम गरिरहेका विभिन्न निकायसँगको सहकार्यमा तीनवटै तहका सरकारको संयुक्त आयोजनामा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएपछि स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरू उत्साहित भएका छन् ।

बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवं उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोशेलीघरले खरिद बिक्री गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिन्धुपाल्चोकमा भूकम्पबाट ६ जना घाइते, पाँच घरगोठ र एक प्रहरी कार्यालयमा क्षति

काठमाडौँ । सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्प धेरै जिल्लामा

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

गोरखा। बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’

भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध

भूकम्पमा भाग्दा काठमाडौँमा दुईजना घाइते

काठमाडौँ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान गएको छ दशमलव एक