विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा देउवा र कोइराला पक्षका नेविसंघका कार्यकर्ताबीच झडप
विराटनगर । नेपाल विद्यार्थी संघ मोरङमा दुई पक्षबीच कुटाकुट भएको छ। बिहीबार स्वतन्त्र विद्यार्थी युनियनको चुनावको बारेमा कांग्रेसको संस्थापन पक्ष र इत्तर समूहबीच विवाद हुँदा कुटाकुट भएको हो ।
विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई पक्षबीच झडप हुँदा दुई जना विद्यार्थी घाइते भएका छन् ।
सभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरुबीच कुटाकुट हुँदा कोइराला समूहका दुई नेता घाइते भएका छन् ।
नेविसंघ मोरङका सभापति सरोज पोखरेल र आयुष दाहालसहितको टोली क्याम्पसमा इकाइ समिति गठन र स्ववियु चुनावको भागबन्डाको विषय लिएर गएपछि विवाद भएको थियो।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष जसवन्त पौडेलको समूहले पोखरेल र दाहाललाई कुटेको बताइएको छ । स्ववियु सभापति पौडेल देउवा समूहका हुन् । जिल्ला सभापति पोखरेल भने कोइराला समूह हुन् । घाइतेको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।