घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
दाङ । दाङको घोराही–तुलसीपुर चार लेनको सडक निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का ६ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो । तर, उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएपछि सडक निर्माणले गति लिन सकेको थिएन ।
पछिल्लोपटक २६ फागुन २०७८ देखि श्रेष्ठ कन्स्ट्रक्सनलाई सडक निर्माणको जम्मेवारी दिइएको थियो । उक्त कम्पनीले पनि सडकका दायाँबायाँ ठूल्ठूला खाल्डा बनाएर काम छाडेको भन्दै चौतर्फी विरोध भएपछि नेपाल सरकारले उक्त ठेक्का सम्झौता तोडेको थियो ।
अहिले पुनः नेपाल सरकारकै लागतमा मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले ठेक्का आह्वान गरेको हो । आयोजनाको लागत तीन अर्ब १९ करोड रुपैयाँ रहेको छ । मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका निर्देशक इन्जिनियर दीप बाराहीका अनुसार ३० फागुनसम्म आवेदन गर्ने अवधि छ । उनका अनुसार विगतजस्तो कतै चार लेन र कतै दुई लेन नभई सबै खण्डमा चार लेनको सडक हुनेछ ।
विगतमा बजार क्षेत्रमा दुई लेन मात्रै सडक बनाउने प्रस्ताव थियो । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्मको २१ किलोमिटर सडकखण्ड ३० मिटर चौडाइको हुनेछ । सम्झौता भएको ३६ महिनाभित्र काम सक्ने गरी आयोजनाको काम अघि बढ्नेछ ।