कीर्तिपुर ‘जलन अस्पताल’को पीडा



– गौरी प्रधान

देशमा राष्ट्रिय स्तरको एक सक्षम, व्यवस्थित र गुणस्तरीय जलन सम्वन्धी स्वास्थ्योपचार केन्द्र बनाउनु आजको एक महत्वपूर्ण कार्यभार हो । कीर्तिपुर अस्पताल, कीर्तिपुर नगरपालिकासंगको सहकार्यमा संचालित १०० शैयाको एक सामुदायिक जनरल अस्पताल हो । यहाँ जल बाहेक सबैजसो प्रमुख विधामा विरामीहरुको उपचार हुने गर्दछ । यसले वर्षेनी पचास हजार भन्दाबढी जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । गरीव तथा सुविधाविहिन नागरिकहरुलाई यस अस्पतालले निःशुल्क र सहुलियत दरमा स्वास्थ्य सेवा पनि प्रदान गर्दछ । कीर्तिपुर नगरपालिकाका बासिन्दाहरुलाई यस अस्पतालले अधिकांश सेवाहरुमा ५०% को सहुलियत दरमा सेवा प्रदान गर्दै आइरहेको छ । तर कैयनले यस अस्पताललाई ‘बर्न अस्पताल’ को रुपमा मात्रै चिन्दछन् । सायद, विगत १०–१२ वर्षमा यसले सयौं जलन पीडितहरुलाई निःशुल्क र सहुलियत दरमा उपचार गर्दै आएको र देशकै सबैभन्दा ठूलो बर्न विभाग भएको कारण पनि जन–साधारणले यसलाई बर्न अस्पताल भनेको हुनुपर्दछ ।

विगत १०–१२ वर्षमा देशमा भएका विभिन्न जलन सम्बन्धी दुर्घटनाका अधिकांश पीडितहरुले यसै अस्पतालमा उपचार गरेर निको भएर घर फर्केका छन् । विभिन्न कारणवश, अतिजलनमा परेका केही विरामीहरुको मृत्यु पनि हुने गरेका छन् । देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म (हाल सम्म ७५ जिल्ला)मा भएका साना–ठूला सबैजसो दुर्घटनाको कारण जलनमा परेका अधिकांश विरामीहरुको यसै अस्पतालमा उपचार हुने गरका छन् । कथंकदाचित, ठूला मान्छेहरु जलन दुर्घटना परेको खण्डमा अस्पतालमा भिआइपीहरुको घुइँचो नै लाग्ने गर्दछ । टिभीको पर्दा अगाडि उहाँहरुले अस्पतालको जलन विभागलाई सहयोग गर्ने, विरामीहरुलाई निःशुल्क उपचार गर्ने लगायत व्यवस्थित बर्न अस्पताल निर्माण गर्ने कुरा गरेका अनेकन उदाहरणहरु पनि छन्, तर व्यवहारमा त्यस सम्बन्धी खासै कुनै परिणामुखी काम भएको छैन ।

कुरा दुई वर्ष जति अगाडिको हो । लक्ष्मी पुजाको दिन मोरङ्ग जिल्लाको उर्लाबारीमा ग्यास पड्केर २७ जना मान्छेहरु गम्भीर घाइते हुन पुगे । कीर्तिपुर अस्पतालमा ल्याइएका विरामीहरुलाई डाक्टर, नर्स स्वास्थ्य स्वयंसेवीहरुले एम्बुलेन्सबाट सिधै अपरेसन थिएटरमा लगेर उपचार शुरु गरे । विभिन्न कारणवश, अति जलनमा परेका केही मान्छेहरुको मृत्यु पनि भयो । सो घटना राष्ट्रिय चासोको विषय पनि बन्यो । सरकारले ती विरामीहरुको निःशुल्क उपचार गर्ने घोषणा पनि गर्यो । तर वाचा पूरा गरेन । ती मध्ये धेरै विरामीहरु स्वास्थ्य लाभ गरी घर फर्केका थिए । तर त्यो ‘निःशुल्कको भार’ अस्पतालले अझै बोक्न बाध्य भएको छ । यस अघि सांसद डा. चन्द्र भण्डारी ग्यास जलनमा परी गम्भीर घाइते हुन पुगे । त्यसबेला पनि थुप्रै भिआइपीहरुले उहाँहरुको स्वास्थ्य लाभको निम्ति अस्पतालको भ्रमण गरि अस्पतालको विकासमा सघाउने विभिन्न प्रतिवद्धता जाहेर गरेका शृङ्खलाहरु छन् । तर, खासै काम भएन ।

यसै सन्दर्भमा सांसद डा. भण्डारीले संसदमा कीर्तिपुर अस्पताललाई जलनका बिरामीहरुको निम्ति एक रेफेरेल सेन्टरको रुपमा विकास गर्नु पर्ने उहाँको आव्हानलाई संबोधन गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक संरचना निर्माणमा नेपाल सरकारले सहयोग गर्ने कुरा रोष्टमबाटै घोषणा गर्नु भएको थियो । त्यसपछि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक संरचना निर्माणको निम्ति बजेट विनियोजन गरेको कुरा बजेट भाषणमा उल्लेख गर्नुभएको थियो । केही समय पश्चात सरकार परिवर्तन भयो । कीर्तिपुर अस्पतालको जलन विभागको भौतिक पूर्वाधारको निम्ति बजेट विनियोजन गरेको कुराले खुसी भएका हामीहरु (म, डा. भरत प्रधान र डा. शंकर राई) वर्तमान उप–प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग सो कुराको जानकारी लिन सिंहदरबार पुगेका थियौं । उहाँले रातो किताब हेरेपछि सो कुरा बजेट भाषणमा उल्लेख भएता पनि कुनै पनि रकम विनियोजन नभएको बताउनु भयो । सो कुरा थाहा पाउँदा र सरकारी कामकाजको रवैया देख्दा हामी भारी मन लिएर अर्थ मन्त्रालयबाट फर्केका थियौं ।

अफशोच, फेरि एक गम्भीर असावधानीको कारण अर्को जलनको दुर्घटना हुन पुग्यो । जसको कारण वर्तमान उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जलनको दुर्घटनामा परेका छन् । कीर्तिपुर अस्पतालमा उपचारत उहाँहरुको निम्ति एक विशेषज्ञ टोली गठन गरेर सघन उपचार कक्षमा उहाँहरुको सावधानीपूर्वक उपचार भयो ।

हाल, कीर्तिपुर अस्पतालमा एक राष्ट्रिय जलन उपचार केन्द्रको स्थापनाको उद्देश्य लिएर जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (phect–NEPAL) को तत्वावधान र सांसद डा. चन्द्र भण्डारीको सकृय सहयोग र मार्ग निर्देशन र डा. शंकर राईको सकृयतामा महत्वपूर्ण कार्यहरु अगाडि बढ्दै छ । यस पुनित कार्यलाई सघाउन चौधरी फाउन्डेसन, नेपाल विद्युत प्राधिकरण र जलन उपचार सेवामा प्रतिवद्ध फेक्ट नेपालका सद्भावना दूत उज्वल थापा लगायत सर्वसाधारण जनता पनि लागेका छन् । जलन पीडित तथा प्रभावित मानिसहरुको निम्ति सस्तो, सुलभ र गुणस्तरीय उपचार देशैभित्र सम्भव गराउनुका साथै सो विषयमा एक राष्ट्रिय श्रोत केन्द्र पनि बनाउने र अस्पताललाई एक राष्ट्रिय बर्न रेफेरल सेन्टरको रुपमा विकास गर्ने उद्देश्यले कृयाशील यो अभियानमा नेपाल सरकारको विशेष पहल र आर्थिक सहयोग हुनु अत्यावश्यक छ । तसर्थ, सो कार्यलाई सघाउन नेपाल सरकारसंग म हार्दिक अनुरोध गर्न चाहन्छु । सो कार्यलाई सघाउन सातै प्रदेशका स्वास्थ्य मन्त्रायहरुले पनि योगदान गर्नु उपयुक्त हुन्छ । साथै, देशका ७५३ वटै पालिकाहरुले राष्ट्रिय जलन उपचार केन्द्रको निर्माण र पीडितहरुको उपचारको निम्ति आ–आफ्नो गक्ष अनुसार वर्षेनी केही रकम सहयोग भए सो पालिकाको जलन पीडितहरुलाई सहुलियत दरमा र गरीव तथा सुविधाबिहिनहरुलाई निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

पछिल्लो चरणमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जलनका विरामीहरुको निम्ति स्वास्थ्य सेवा गुणस्तरीय र सर्वसुलभ गर्न गरेका प्रयत्नहरु सकारात्मक र स्वागतयोग्य छन् । यस शुभ कार्यलाई सम्भव बनाउन रातोदिन खट्नु हुने सांसद डा. चन्द्र भण्डारी, प्रो. डा. शंकरमान राई, कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र जनस्वास्थ्य सरोकार ट्रष्टका कार्यकारी समितिका सदस्यहरु, कीर्तिपुर नगरपालिका, कार्यक्रम डिभिजनका निर्देशकहरु, सम्पूर्ण डाक्टर, नर्स र कर्मचारीहरुलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

जलनका दुर्घटनाहरु बाजा बजाएर आउँदैनन् । यो खासगरी असावधानी, अपर्याप्त तैयारी र विपत्तिको कारण हुने गर्दछ । यसखाले घटनाका पीडित जो कोही पनि हुन सक्दछन् । त्यसैले, यस्ता घटनाहरुको रोकथाम, पीडितहरुको शिघ्र र गुणस्तरीय स्वास्थ्य उपचार र पूनस्थापनात्मक उपचारको निम्ति देशले समयमै सचेत भइ जलन उपचारको निम्ति आवश्यक भौतिक, प्राविधिक र सामाजिक कार्यहरु स्थापना, परिचालन र संस्थागत गर्न जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने थिएन’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’

महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

जनकपुरधाम । महाकुम्भबाट फर्किने क्रममा नेपाली तिर्थयात्री सवार गाडी दुर्घटना हुँदा चार जनाको

नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्था गर्ने ओडिसाका मुख्यमन्त्रीको आश्वासन

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति

उडिसाबाट काँकरभिट्टा नाका हुँदै २० जना विद्यार्थी फर्किए नेपाल

झापा ।  भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना