भैरहवा ल्याइयो प्रकृति लम्सालको शव
बुटवल । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) को छात्रावासमा मृत फेला परेकी रुपन्देहीकी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ ।
बुधबार साँझ बेलहिया नाका हुँदै प्रकृतिको शव नेपाल ल्याइएको हो । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा उनको शव भैरहवा ल्याएको हो ।
केआइआइटीमा स्नातक अन्तिम वर्षमा अध्ययनरत लम्सालको शव दाहसंस्कारको लागि भैरहवास्थित घरमा ल्याइएको हो ।
प्रकृतिको शव आज भैरहवास्थित युनिभर्सल मेडकिल कलेजमा राखिनेछ । प्रकृतिको शंकास्पद मृत्यु भएको खबरपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए । गत आइतबार प्रकृति होस्टलको कोठामा मृत भेटिएकी थिइन् । घटनालगत्तै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए ।
तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो । चर्को आलोचनापछि विश्वविद्यालय प्रशासनले केही कर्मचारीलाई बर्खास्त गरेको छ भने केहीलाई निलम्बन गरेको छ । ओडिसा सरकारले नै यो घटनाको छानबिनका लागि उच्चस्तरीय समिति बनाएको छ ।