म्यान्मारका ’स्क्याम सेन्टर’मा कार्यरत नेपालीसहित २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त
बीबीसी । दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’मा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन् ।
म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो । उनीहरू सबै जनालाई थाइल्यान्ड ल्याइएको छ ।
मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन् । तीमध्ये २२१ पुरुष र ३९ महिला छन् ।
उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ । अहिले थाइल्यान्ड पुग्नेमा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्रजिलका नागरिक छन् ।
गत साता चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गर्न प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।