निजामती सेवामा चौधौं तहसम्म रहने
काठमाडौं । संसदीय समितिमा संघीय निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटेको छ ।
बिहीबार बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका विषयमा सहमति जुटाएको हो ।
जसअनुसार निजामति कर्मचारी सेवामा चौधौं तह रहने भएको छ । छलफलका क्रममा कतिपय सांसदले अतिरिक्त सचिवसमेत राखेर १५ औँ तह बनाउनुपर्नेमा जोड दिएका थिए । उक्त विषयको टुंगो पछि लगाउने गरी प्रस्ताव पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुने वित्तिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए । सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपनि मात्रै गर्नुपर्ने बताए ।
त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई वर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए । उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुर्याउने समिति सभापति खतिवडाले जानकारी दिए ।
उनले समितिमा परेको उजुरीहरू अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए । यसअघि गत पुस २२ गते बसेको समिति बैठकले उजुरीका सम्बन्धमा अध्ययन गरि टुङ्गोमा पुर्याउन उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।