कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ
धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो । उनले माघ २७ गते आफ्नी बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेको जानकारी दिए ।
गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर बिकको पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।