गृहमन्त्री र पाथीभरा केबलकारको आन्दोलनरत पक्षबीच सोमबार वार्ता हुने
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षसँग सोमबार वार्ता गर्ने भएका छन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सोमबार साँझ ६ बजे आन्दोलनरत पक्षसँग गृहमन्त्री लेखकले भेटको समय दिएको जानकारी दिएका छन् ।
भट्टराईले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गरेका छन् । भट्टराईले भनेका छन्, ‘उहाँहरूले माननीय गृहमन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृहमन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’
आन्दोलनरत पक्ष र सरकारको वार्ता टोलीबीच आइतबार पनि वार्ता भएको थियो । तर आन्देलनरत पक्षले गृहमन्त्रीसँगै वार्ता गर्न खोजेपछि निष्कर्षविहीन भएको थियो ।