एनआरएनएको सहयोगमा युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार, शुक्रबार काठमाडौं आइपुग्ने
काठमाडौँ । विगत नौ महिनादेखि युक्रेनीको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार गरिएको छ ।
नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।
उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएकोमा गैरआवासीय नेपाली संघको सहयोगमा शुक्रवार दिउँसो काठमाडौँ ल्याउन लागिएको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिए ।
उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायतले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यस्तै, उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट आइसीसी सदस्य चिरन शर्मा, संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीले समन्वयन गरेको केसीले बताए ।