यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
काठमाडौं । सरकारले २०८२ साल जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले २०८२ जेठ २, ३ र ४ गते काठमाडौंमा सगरमाथा संबाद आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित काठमाडौं उपत्यका मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय भएको उनले जानकारी दिए ।
बैठकले बालसुधार गृह भक्तपुर, मोरङ र कास्की तथा बाँकेको सञ्चालन र व्यवस्थापनको लागि महिला बालबालिका मन्त्रालय र न्यूनतम सुविधाविहीन बालकालिकाका लागि शैक्षिक कार्यक्रमबीच भएको सम्झौताको अवधि २०८२ साल असार मसान्तसम्मका लागि थप गर्ने निर्णय गरेको छ भने शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका लागि चालू आर्थिक वर्षमा अधिकृत स्तरका थप १० अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकले विश्वविद्यालय अनुदान आयोग आर्थिक कार्यविधि नियमावली, २०८१ स्वीकृत गरेको छ भने आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन, २०८१, विशेष आर्थिक क्षेत्र (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ।