आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा
चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन् ।
कांग्रेस चितवनले शनिबार भरतपुरमा आयोजना गरेको ‘नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहमा उनले सबै तहका नागरिकलाई पार्टी र देशप्रति विश्वास जगाउनका आवश्यक रहेको बताए ।
“अहिले आममानिसमा निराशा छाएको छ । यस्तो बेला देशमा भएका अवसर र प्रगतिबारे सकारात्मक सन्देश दिन आवश्यक छ । जनतामा आशा जगाउनका लागि स्थायी सरकार र पार्टीले गरेका राम्रा कामहरू जनतामाझ बुझाउन जरुरी छ । कांग्रेसले १०० दिने अभियान पनि त्यसैका लागि सञ्चालन गरेको हो”, महामन्त्री शर्माले भने ।
उनले मेचीदेखि महाकालीसम्मको विकास, समृद्घि र समुन्नतिका लागि काम गर्नसके मात्रै देशले जित्ने भन्दै त्यसका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।
केन्द्रीय सदस्य मधु आचार्यले चितवनमा रहँदा आफूले सकारात्मक ऊर्जा पाएको भन्दै आगामी निर्वाचनमा गठबन्धन नगरी पार्टीले जित्ने अवस्था बनाउन क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याए ।
पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले एक्लै चुनाव लड्न कांग्रेसले सङ्गठन निर्माणमा जोड दिन आवश्यक रहेको बताए । उनले देश विकासका लागि पार्टी नेतृत्वमा भएका उपलब्धिको प्रचारप्रसार गर्दै अगाडि बढ्न आग्रह गरे ।