पाथीभरा या मुक्कुमलुङ्लाई जस्ताको त्यस्तै बाँच्न दिऊँ
-नारायण गाउँले ।
पाथीभरा केबलकार प्रोजेक्टको स्थानीय लिम्बू समुदायले विरोध गरेको रहेछ । धार्मिक, सांस्कृतिक र सामाजिक सम्पदावरपर कुनै पनि व्यावसायिक निर्माण कार्य गर्दा वातावरणीय अध्ययन मात्रै होइन, व्यापक रूपले जनभावनाको समेत अध्ययन र सम्मान जरूरी हुन्छ ।
हामीले धार्मिक सम्पदाहरूलाई चरम व्यावसायीकरणबाट जोगाउनु पनि जरूरी छ । व्यापार, व्यवसाय र विकासको हक त सबैलाई हुन्छ नै तर यस्ता धार्मिक सम्पदाहरूमा सरोकारवाला पक्षको आस्था र इच्छाविपरीत निर्माण कार्य जायज होइन ।
सुगम र सहज पहुँच भएका धार्मिक सम्पदा पनि छन् । सहजै सबैले गर्न सक्ने योग र आसन पनि छन् । तर जति नै लाभदायी भए पनि सबैले गर्न नसक्ने आसन र यज्ञ पनि छन् । मन्दिर भन्नेबित्तिकै सबै जना सरर केबलकार चढेर पुग्न सकिने हुनुपर्छ भन्ने हुँदैन ! सुविधासम्पन्न होटल र रेस्टुरेन्टको लर्को लगाउँदैमा सम्पदाको वास्तविक संरक्षण हुँदैन ।
यस्तो बहुधार्मिक र बहुसांस्कृतिक विषयमा त सबैको भावना र मतलाई जोडेर, एकले अर्कालाई सम्मान र स्वीकार गर्ने वातावरण सिर्जना गरेर धार्मिक र सामाजिक सहिष्णुता कायम गर्नुपर्नेमा साम्प्रदायिक सद्भाव नै खलबलिने र झन् बिग्रँदै जाने गरी अघि बढ्नु उचित हुँदैन । राज्य, व्यवसायी र आन्दोलनकारी सबैले यसको सौहार्दपूर्ण र शान्तिपूर्ण समाधान निकाल्नु जरूरी छ । पाथीभरा या मुक्कुमलुङ्लाई जस्ताको त्यस्तै बाँच्न दिऊँ र यसलाई केबलकारे आधुनिक पर्यटन क्षेत्र नभई हाम्रो परम्परित धार्मिक यात्रा स्थल बनाई राखौं भन्ने माग गलत होइन ।