भारतमा रेल दुर्घटनामा परेका नेपालीप्रति अभिभावकीय भूमिका निर्वाह गर्न प्रचण्डको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी मुलुक भारतको महाराष्ट्र जलगाउँस्थित रेल्वेस्थान नजिक भएको रेल दुर्घटनामा परेका नेपालीहरूप्रति अभिभावकीय भूमिका निर्वाह गर्न सरकारसँग अनुरोध गरेका छन् ।
दाहालले दुर्घटनामा परी निधन भएका परिवार र घाइतेको उपचारमा गम्भीर हुन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष दाहालले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, “दुर्घटनामा घाइते भएका आफ्ना नागरिकको उपचार तथा निधन भएका नागरिक र उनका परिवारप्रति तत्काल अभिभावकीय भूमिका पूरा गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।”
उक्त घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष दाहालले दुर्घटनामा सात जना नेपालीसहित भारतीय नागरिकको निधन भएको र अरू थुप्रै घाइते भएको खबरले स्तब्ध बनाएको बताएका छन् । उनले दुर्घटनामा निधन भएका सबैमा श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनमा गहिरो समवेदना पनि प्रकट गरेका छन् ।
परराष्ट्र मन्त्रालयले उक्त दुर्घटनामा सात नेपालीसहित १२ जनाको मृत्यु भएको जनाएको छ ।