धरानले त रित्तो गाग्रो बोकेर काकाकुल काठमाडौं धाइसक्यो, अरुले चाहिँ यसो गर्ने कि ?



नारायण गाउँले ।
तलका तस्बिरहरू बेलायतमा मानवनिर्मित ’रिजरभायर’का हुन् । घरको धारामा चैबिसै घण्टा आउने पानी मूलतः यस्तै स्रोतबाट प्रशोधित भएर आउँछ । सयौं वर्षदेखि आकाशबाट बर्सिने पानीलाई यस्ता कृत्रिम ताल बनाएर संरक्षण गरिने रहेछ । हाल दुई सय बढ़ी रिजरभायरबाहेक असङ्ख्य प्राकृतिक ताल, दह या पोखरी पनि छन् ।

यहाँ सकेसम्म भूमिगत जलको प्रयोग गरिन्न । भूमिगत जलको दोहनले पर्यावरणीय सङ्कट निम्त्याउन सक्ने, अत्यधिक दोहनले जलस्तर कम भई नदीनाला सुक्ने, माटोको गुणस्तर बिग्रने र बाढ़ीपहिरो या भूक्षयको जोखिम बढ्ने हुनाले वर्षाको पानीलाई यसरी संरक्षण गर्ने र भूमिगत जलस्तर कायम राख्ने गरिन्छ ।

लण्डन भन्ने विश्वकै महँगो र सघन जनसङ्ख्या भएको शहरमा समेत ७०% पानी यस्तै रिजरभायरबाट सप्लाई हुने रहेछ । भूमिगत जल प्रयोग गरे पनि त्यसलाई रिचार्ज गर्न पर्याप्त खुला ठाउँ छोडि़एको छ । यत्रो घना शहरमा ८४ लाखभन्दा बढ़ी त रूखहरू नै छन् । २१% शहरको भूभाग त रूखले नै ढाक्ने रहेछ । एउटै शहरमा दर्जन बढ़ी रिजरभायर छन् । यसो सोच्नुस् त, तीन हजार पार्कको शहर कस्तो होला ! पार्क पनि रत्नपार्क जस्तो घरको बगैँचाजत्रो होइन, ३–४ बिघाको पनि होइन, ३–४ हजार बिघासम्म फैलिएका ! त्यहाँ मान्छेमात्रै होइन, स्यालदेखि हरिणसम्म, लोखर्केदेखि चराचुरुङ्गीसम्म निर्बाध घुम्छन् । लण्डनसँग ४०% भाग त पब्लिक स्पेस अर्थात् सार्वजनिक खुला स्थान नै रहेछ ।

तुलना गर्नका लागि काठमाडौंसँग पाँच प्रतिशतभन्दा कम रहेछ । त्यो पनि ’ग्रीनस्पेस’ होइन । पार्क त शून्यजस्तै छ । न घर अगाडि़ गार्डेन, न घरपछाडि बगैँचा । शहरको धुलोधुआँ र कार्बन केले सोसोस् ? हावा किन विश्वकै प्रदूषितमध्ये एक नहोस् ? र मुख्य कुरा भूमिगत जल कसरी रिचार्ज होस् ?

तर सधैँ यस्तो थिएन ।

–काठमाडौँ हिटी नै हिटी अर्थात् पँधेरै पँधेरोको शहर थियो ! दरबारको नाम समेत हिटीबाटै थियो । सार्वजनिक ठाउँमैँ सुनको धारो विश्वमा कति होलान् ? आज घरको धारामा पानीभन्दा हावा बढ़ी आउँछ !
–काठमाडौँ नदी नै नदीको शहर थियो ! उपत्यकामा दर्जन बढ़ी नदी थिए ! कागज, कानुन र कहीँकतै नक्सामा आज पनि छन् तर ती ’ओपन ढल’जस्तै छन् !

–काठमाडौँ पाटी नै पाटीको शहर थियो, पाटीकै नाममा बस्तीको नाम चल्थ्यो, आज हिँड्दा हिँड्दै थाकेर टुच्च बिसाउने ठाउँ पनि छैन !

–काठमाडौँ पोखरी नै पोखरी र दह नै दहको शहर थियो ।
–काठमाडौँको अद्भुत वास्तुकला त चीनसम्मै पुगेको थियो । घरनिर्माणको आफ्नै शैली र सामग्री थियो । आज कङ्क्रिटको जङ्गलजस्तो छ ! आज गोरखपुर र काठमाडौँ उस्तै देखिन्छन् !

समग्रमा काठमाडौँ गौचरन, बगैँचा, जङ्गल, टुँडिखेल, मण्डप, पाटी, जात्रा, मेला, कला र पानीको मौलिक शहर थियो ! यो नदीको शहर थियो !

हामीले पानी संरक्षणबारे हाम्रा पुर्खाले जाने र गरे जति काम पनि गर्न सकेनौँ ! काठमाडौँमा कतिवटा नयाँ पोखरी बने ? कति दलदल या सिमसार क्षेत्रको संरक्षण भयो ? कति जलाधार र जलाशयहरूको खोज र संरक्षण भयो ? भूमिगत पानी सुक्न नदिन र रिचार्ज हुने व्यवस्था मिलाउन हामीले कति काम गर्यौँ ? हिजो ठूलो नदी मानिने बाग्मती आज किन सुक्यो ?

कति कुरा त आजको भोलि गर्न सकिन्न । गरेर पनि हुँदैन । तर काठमाडौँ उपत्यकाको अत्यधिक भूमिगत जल–दोहनलाई नरोक्ने हो भने अरबौं रुपियाँ सफाइमा खर्च गरे पनि हामीले नदी फर्काउन सक्दैनौँ । नदीबिनाको शहर मुर्दाजस्तै हुन्छ । कङ्क्रिटका कारण रिचार्ज नहुने र दोहनचाहिँ भइरहने स्थितिले हामीलाई ठूलो पर्यावरणीय दुर्घटनातिर लैजाँदै छ । रगतमैँ पानी रहेन भने मुखमा पिलाएर मात्रै मान्छे बचाउन ढिलो हुन सक्छ !

छिमेकी भारतले यो बुझेर कदम चालिसक्यो । उसले धमाधम रिजरभायर त बनाएकै छ, गाउँगाउँ र घरघरमा बर्खाको पानी जमिनमुनि जाने गरी डिजाइन, चेतना र प्रोजेक्टहरू सञ्चालनमा छन् । विगत पाँच छ वर्षमा जलस्तर तीन गुनासम्म बढेको छ । माटोको गुणस्तर समेत वृद्धि भएको छ । पानी बच्यो भने हामी मात्रै बच्दै नौं, पर्यावरण बच्छ, जैविक विविधता बच्छ, स्थानीय रुखबिरुवाका प्रजाति बच्छन् । जीवजन्तु र हाम्रै मानसिक स्वास्थ्य पनि बच्छ ।

हामीसँग हिमाल र ६ हजार जति स्वच्छ नदी र खोला भएकाले यसअघि जलाशय निर्माणमा ध्यान नगएको हुनसक्छ । तर अब बुद्धिमानीपूर्वक स्थानीय तलाउ, दह या सिमसार क्षेत्रलाई बचाउ गर्दै हरेक गाउँपालिकाले बर्खे पानीको संरक्षणमा ध्यान नदिने हो भने, चुरे र महाभारतको तत्काल संरक्षणमा नलाग्ने हो भने काठमाडौंमात्रै होइन, भरतपुर, नेपालगञ्ज, विराटनगर, महेन्द्रनगरजस्ता शहरले पनि पानीको ठूलो सङ्कट बेहोर्ने दिन आउँछ । धरानले त रित्तो गाग्रो बोकेर काकाकुल काठमाडौं धाइसकेको खबर छ ।

केही काम त भएका पनि छन् । बाग्मतीमाथि विशाल जलाशय बनेको छ । काठमाडौंका मेयरले खोला, तलाउ र पोखरीको संरक्षणमा चासो र चिन्ता देखाएका छन् । धेरै स्थानीय निकायले आआफ्नो क्षमता अनुसारका योजना कार्यान्वयन गर्दै छन् ।
यसलाई राष्ट्रिय गौरव र महत्त्वको बनाएर कम्तिमा एक गाउँपालिका एक तलाउसँगै पानी, जैविक विविधता, पर्यावरण र पर्यटन एकैसाथ अघि बढाउने योजना लागू गर्न सके कस्तो हुन्थ्यो होला ? तपाईंको क्षेत्रमा, गाउँ या शहरमा यस्तो काम भएको छ भने तस्बिरसहित शेयर गर्नुहोला । के थाहा, त्यही तस्बिर अर्को गाउँका लागि प्रेरणा र उदाहरण बन्न पनि सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

काभ्रे । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन

विकासलाई केन्द्रमा राखेर काम गर्न जनप्रतिनिधिलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका

सरकार सहज ढंगले चलेको पनि छैन र यो धेरै समय टिक्नेवाला पनि छैनः अध्यक्ष प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल नेपाली कांग्रेससँग

सवारी दुर्घटनामा धनुषामा ६ महिनामा २६ जनाको मृत्यु

जनकपुरधाम । विगत ६ महिनामा सवारी दुर्घटनामा परी धनुषामा २६ जनाको मृत्यु भएको