पूर्वराजाको प्रश्नः परायाबाट सिर्जित वाद विवादको चक्रव्युहमा हामी किन फस्यौं ?(भिडियो)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले हामी नेपालीहरु सुनको कमण्डलु बोकेर अरुसँग भिक्षा मागिरहेको बताएका छन् ।
पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा बिहीबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रनिर्माताका मार्गदर्शनलाई आत्मसात् गर्नसके नेपाललाई कसैले केही गर्ननसक्ने बताएका हुन् । उनले विदेशी भूमिका नीति र दर्शन नेपालीलाई नचाहिने पनि बताएका छन्।
उनले हामीमध्ये कतिपय दाजुभाइ दिदीबहिनी विदेशी भूमिका निर्मित वादमा किन भर परेका हुन् भन्ने प्रश्न गर्नुपर्ने बेला आएको बताएका छन् ।
उनले भनेका छन्, ‘हामीसँग मौलिक अर्थव्यवस्था, सामाजिक व्यवहार, न्याय, कूटनीति हुँदाहुँदै परायाबाट सिर्जित वाद र विवादको चक्रव्युहमा किन फस्यौं भनी आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ । राष्ट्रियता सहितको पूर्ण प्रजातन्त्र नै बडामहाराजधिराजको विचार थियो । सबै संस्कृतिहरूको सम्मान गर्दै उनीहरूको संरक्षण गर्ने, प्रकृतिको सुन्दर भण्डारलाई सबै मिलाएर समुन्नत बनाउनु पर्छ ।’
दिव्यउपदेशबाट नेपाललाई तीन शताब्दीअघि नै राष्ट्रवाद र आर्थिक सम्बृद्धिका धारणा प्राप्त भएको पनि पूर्वराजा ज्ञानेन्द्र शाहले उल्लेख गरेका छन्।