कम्युनिष्टहरु किन कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ?
डा. बाबुराम भट्टराई ।
नेपालका करिब एक दर्जन ‘कम्युनिष्ट’ नाउँ रहेका पार्टीहरूमध्ये संसदीय गणितका हिसाबले दुई ठूला पार्टीहरू एमाले र माओवादी केन्द्रको केन्द्रीय समितिको वैठक एकै दिन (पौष २१) शुरू हुनु आकस्मिकता मात्र हुनसक्छ । बैठकको दस्तावेज र निर्णयहरु बाहिर आएपछि मात्रै उनीहरूवीचको समानता/असमानता र उनीहरूको आगामी दिशा बढी प्रष्ट हुनेछ।
तैपनि उनीहरूको विगत र प्रमुख नेताहरूको प्रवृत्तिलाई हेरेर सहज अनुमान गर्न सकिन्छः
– उनीहरूले अर्कालाई पूरै अशुद्ध र आफूलाई चौवीस क्यारेटको शुद्ध ‘कम्युनिष्ट’ प्रमाणित गर्न न्वारानदेखिको बल लगाउनेछन् !
– दुवै ठूला नेताका बफादारहरूले शब्दकोशमा भएका सबै शब्द छानीछानी आफ्नो सर्वोच्च नेताको देवत्वकरण र अर्कोको दानवीकरण गर्नेछन् !
– दुवैका बैठकमा तीस वर्ष पहिले विश्वका १६ देशमा कम्युनिष्ट पार्टीको एकल शासन भएकोमा अहिले किन ५ देशमा मात्र सीमित भए ? संसदीय चुनावबाट सरकारमा पुगेका छिमेकी भारतका तीन प्रदेशमध्ये किन अब एउटा मात्र बाँकी छ? किन सत्तामा पुगेपछि आफूलाई सर्वहारावर्गको नेता भन्नेहरू उल्टै नयाँ नोकरशाही पुँजीपति वर्गमा रूपान्तरित हुन्छन् र कुर्सीमै बसेर स्वर्गारोहण गर्न लालायित हुन्छन् ? आदि गम्भीर प्रश्नहरूबारे खासै बहस छलफल हुनेछैन।
त्यसैले हाम्रो विनम्र सुझाव छः
– नेपालको विशिष्ट भूराजनीतिक अवस्था, अत्यन्त पिछडिएको आर्थिक–सामाजिक संरचना, लामो समयसम्मको निरंकुश राजतन्त्रात्मक
शासनप्रणाली आदिको सन्दर्भमा हिजो पुँजीवादी लोकतान्त्रिक आन्दोलनमा सकारात्मक भूमिका निर्वाह गरेकाले नेपालमा ‘कम्युनिष्ट’ ब्राण्ड स्थापित र पपुलर भएको हो। अब २१ औं शताब्दीको नयाँ युगको नयाँ कार्यभार पुरानै कम्युनिष्ट भाष्य, नीति, कार्यक्रम, संगठन, नेतृत्व शैलीबाट पूरा गर्न सम्भव छैन । बेलैमा आफूलाई आमूल रूपान्तरण नगरे पुरानै ‘कम्युनिष्ट’ ब्राण्ड अब क्रमशः क्षयीकरण हुँदै जाने मात्र हो। ( चीन लगायत हिजो पूर्ण जनक्रान्तिबाट एकल सत्तामा पुगेकाहरूको सन्दर्भ अर्कै हो।)
– अर्कोतिर, विश्व र नेपालमा कायम रहेको नव–उदारवादी पुँजीवादले ल्याएको विश्वव्यापी वस्तु र सेवाको प्रचुरता बीच चरम आर्थिक–सामाजिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हातहतियारको विभीषिक, एआईको संशय आदिले संसारले नयाँ उत्तर–पुँजीवादी विकल्प खोजेको प्रष्टै छ । नेपाल भने भर्खरै पुँजीवादी चरणमा संक्रमण गरेकाले एकैसाथ पुँजीवादी र उत्तर–पुँजीवादी राजनीतिक,आर्थिक, सामाजिक,सांस्कृतिक प्रणाली बीच तालमेल मिलाएर हिंड्नुपर्ने अत्यन्त चुनौतिपूर्ण अवस्थामा छ ।
– विश्वमा र नेपालमा चलिरहेको वैकल्पिक राजनीतिको विमर्शको चुरो कुरा यही हो । हाम्रो संविधानमा उल्लिखित ‘लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समाजवाद’ भन्ने पदावलीको आशय पनि हाम्रा विचारमा त्यही हो । यसबारे सबै दलका बैठक,भेला, सम्मेलन, अधिवेशनमा र सार्वजनिक मञ्चहरूमा बहस होस् ।