प्रहरी कार्यालयका सहयोगी रुम्बाको हत्या आरोपमा अनुसन्धान अधिकृतसहित तीन पक्राउ
बारा । बाराको सिमरा विमानस्थलमा कार्यरत प्रहरी कार्यालयका सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभाग प्रहरी निरीक्षकको समेत सलग्नता भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा प्रहरी निरीक्षक श्रीकान्त तिवारीसहित जीतपुर सिमरा उपमहानगरपालिका– १ मा ‘माँ इन्जिनियरिङ वर्कशप’ सञ्चालन गरी बस्ने पुरुषोत्तमकुमार दास र सोही ठाउँका इन्द्रजितकुमार चौहानलाई पक्राउ गरेको छ ।
सिमरा उपमहानगरपालिका– ११ स्थित सडक छेउमा रोकिराखेको कारभित्र रुम्बाको पुस ६ गते शव फेला परेको थियो । हत्यापछाडि रिसइबी र लुटपाट कारण रहेको तथ्य फेला परेको छ ।
पोस्टमार्टमका क्रममा रुम्बाको टाउकोभित्र गोली फेला पर्दा उनको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको थियो । अनुसन्धानका क्रममा रुम्बाले लगाएको सुनको सिक्री दासको पाइन्टको खल्तीबाट बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, रुम्बाको मनी पर्स समेत दासकै ब्यागबाट बरामद भएको छ । बाराका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार खड्काका अनुसार घटनामा प्रहरी निरीक्षक तिवारीको प्रत्यक्ष संलग्नता नभएपनि उनकै कारमा रुम्बाको शव फेला परेको र परिवारले उनको नामसमेत जोडेर किटानी जाहेरी दिएकाले पक्राउ गरिएको हो ।