पचास/साठी करोडको सेक्युरिटी प्रिन्टिङ प्रेस मगाउँदा ७० करोड घूस चाहिने देशमा…
नारायण गाउँले ।
देशभर दर्जनौँ प्रेस छन् । दक्ष जनशक्ति छ । तर, अझै किताब छाप्न दिल्ली जान पर्ने रहेछ । यसलाई निरुत्साहन गर्न त्यसरी छापिएर आउने किताबमा अलिकति कर लगाई दिने हो भने फेरि ज्ञानमा पनि कर लगाउने नालायक सरकार भन्दै हामी नै सड़कमा आउँछौँ । अँ, दशौं लाख प्रतिको कुरो पनि होइन । जम्मा दुई तीन हजार प्रति पनि दिल्लीमा छापेर, त्यत्रो ढुवानी र भन्सारका झन्झट पार गरेर काठमाडौँ ल्याउँदा यहीँ छाप्नभन्दा सस्तो पर्ने किन होला ?
देश पोल्ट्री व्यवसायमा आत्मनिर्भर छ भनिन्छ । तर अवैध बाटोबाट ठूलो रिस्क लिएर, ठाउँठाउँमा घूस खुवाएर, सानोसानो ब्याचमा ढुवानी गरेर र धेरै मान्छे बिचौलिया राखेर पनि भारतीय चल्लाहरू यहाँ पाइने भन्दा सस्तो पर्ने कारण के होला ? मूल्य उस्तै भए ठूलो रिस्क र घूस लिएर यस्तो काम पक्कै चल्दैनथ्यो । सित्तैमा त त्यता पनि आउँदैन । कारणवश समातिए खाल्ड़ो खनेर नष्ट गर्ने चलन छ । ती सबै भार घटाउँदा पनि यहाँको मूल्य चर्को हुने कारण के होला?
सीमापारि दुई सयमा पाइने दाललाई एक किलोमिटरवारि तीन सय पचास पर्न जाने किन होला ? के हाम्रो व्यावसायिक मूल्यमान्यतामा कहीँ कतै खोट त छैन ? हामी सानो व्यवसाय र थोरै ग्राहकबाटै अकूत कमाउन त खोज्दैनौं ? पचास–साठी करोडको सेक्युरिटी मुद्रण गर्ने मेसिन मगाउँदा एउटा ठाउँमा मात्रै सत्तरी करोडसम्म घूस चाहिने अवस्थाले पक्कै छपाइ लागत त्यसै दोब्बर त बन्छ नै । त्यसको मर्मत सम्भारदेखि मुद्रण सामग्रीसम्मका कमिशन जोड्दा त्यो त्यसै तेब्बर हुन्छ होला । दुई वटा जहाज किन्दा मिलियन डलरमा घूस दिन र खान पर्ने रहेछ । त्यो मूल्य पनि जहाज चढ्ने यात्रुको मूल्यमा जोडिनै पर्यो । भाडा त्यसै महँगो पर्ने भयो । ड्राइभिङ लाइसेन्स छपाउने मेसिन र ठेक्का त्यस्तै कमिशनमुखी भएकाले एउटा निजी व्यवसायले तीन घण्टामा दिनसक्ने स्मार्टकार्ड छाप्न हामीलाई तीन वर्ष लाग्छ । हाम्रो सरकारी खरीद र वित्तीय अनुशासन एकदम खराब छ । त्यसको मार सोझै हामी जनतालाई पर्छ ! तर देशमा निजी क्षेत्र त छ नि ! खुला बजार पनि छ ! देश शून्य त छैन नि !
नोट र पासपोर्ट छाप्न बाहिर जान परे पनि कम्तिमा आज किताब यहीँ छाप्न सकिने अवस्था छ । सकिने जति त यहीँ गरौँ न । बरु यसका अप्ठेराहरूबारे छलफल गरौँ र सहजीकरण गरौँ । कोही बाधक छन् भने भण्डाफोर गरौँ ! तर यत्ति सानो काम त आफैं गरौँ । गाता अलि कम गुणस्तरको छापिएला, तर भित्रको सामग्री गुणस्तरीय भयो भने बिक्छ ।