भावविह्वल बनेकी रेजिना भन्छिन्-बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, म उसकै मुखबाट सुन्न चाहन्छु



भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर, सवारी चालक अनुमति पत्र भने थिएन ।

त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात् सवारी चालक अनुमतिपत्रको परीक्षा दिन गत २८ मंसिरमा बिदा लिएर भक्तपुर आएका थिए, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलका आचार्य । तर, सवारी चालक अनुमति पत्र लिने धोको पूरा गर्न नपाउँदै सधैँका लागि अस्ताए कुलप्रसाद ।

सूर्यविनायक नगरपालिका–२, बालकोट फिकाधारास्थित भाडाको घरको भुइँतलामा कोठाभित्र मृत फेला परेका बाबु कुलप्रसाद र कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या अभियोगमा प्रहरीले जेठा छोरा मिलन आचार्यलाई मंगलबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको छ । सोमबार बिहानसम्म कोठा नखोलेको, परिवारका कोही पनि बाहिर नदेखिएको र मोबाइलसमेत सम्पर्क नभएपछि सोमबार बिहान प्रहरीलाई खबर गरी कोठाको ताल्चा फुटाएरभित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत भेटिएका थिए ।

कुलप्रसादको हत्यापछि सिरक ओढाएको र भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य र घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी मृतक कुलप्रसादकी पत्नी रेजिना आचार्य मात्रै होइन, आचार्यको सिङ्गो परिवार र आफन्तजन सोमबारदेखि नै शोकमा डुबेको छ ।

मंगलबार साँझ पशुपति आर्यघाटमा बाबुछोराको एकैपटक दाहसंस्कार गर्दा परिवार र आफन्तको शोक निकै पीडादायक थियो । ८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेपछिको पीडा पनि परिवार र आफन्तका लागि निकै कठिन बनेको देखिन्थ्यो । घर झगडा कहिल्यै नसुनेको, परिवारभित्र कलह कहिल्यै नरहेको, माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा माया गर्ने आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्न सक्छ भन्ने प्रश्नले यो परिवारलाई पटकपटक चिमोटिरहेको बताउँछन्, मृतक परिवारका आफन्त दीपक पाण्डे ।

कान्छो छोराको घरमा बस्दै आएका बुबा खडानन्द र आमा तुलसासँगै थिए गत शनिबार साँझसम्म कुलप्रसाद । ‘साँझ जेठो छोराले मासु बनाएको छु बाबा खाना खान आउनुस्’ भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए कुलप्रसाद । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खानासँगै खाएको तर अचानक राति यस्तो दुःखद् घटना कसरी भयो ? किन भयो ? मृतकका परिवारजनले अहिले यही प्रश्न बारम्बार गरिरहेका छन् ।

शनिबार नातिको कोठामा जाँदा छोराले छाडेर गएको झोला हरेर बुढी आमा तुलसाको आँखा ओभाएका छैनन् । अर्काेतिर छोरा र नातिको अकस्मात भएको मृत्युको पीडाले बुबा खडानन्द छटपटाइरहेका छन् । मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । ‘मेरो जेठोले आफूले अति माया गर्ने बुबा र भाइको हत्या गर्‍यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याऊ, म उसकै मुखबाट सुन्न चाहन्छु’ भन्दै भावविह्वल बनेकी रेजिनालाई सम्हाल्न सक्ने अवस्था नरहेको पाण्डे बताउँछन् । यतिखेर मृतकका आफन्तजनलाई पीडित आचार्य परिवारलाई सम्हाल्न सकस परेको छ ।

परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाट तथा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलनले तयारी गरिरहेको लोकसेवाको परीक्षामा असफल भएपछि त्यसको पीडा भने उनलाई थियो । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगितामा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए । मृतक कुलप्रसादका भाइ माधवले मोडलिङमा अगाडि बढेका प्रवीणले केही म्युजिक भिडियोमा अभिनय गरेका जानकारी दिँदै स्नातक तहको अध्ययनपछि अमेरिकामा थप अध्यनका लागि जाने तयारी गरेको बताए ।

मृतक आचार्यकी जेठी छोरीको ललितपुरको लुभुमा विवाह भएर जीवन अगाडि बढिरहेको र कान्छी छोरी गएको तिहार मानेर पत्रकारितामा स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया गएकी थिइन् । शिक्षिकाबाट अवकाशप्राप्त मृतककी पत्नी रेजिना पनि पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला संघमा सक्रिय रहेको एमालेले जनाएको छ ।

घटना हुनुभन्दा दुई दिनअघि मात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले बुबा कुलप्रसादलाई शिक्षण अस्पताल महाराजगञ्ज लगेर स्वास्थ्य जाँच गराएर आएको र गत शनिबार पनि साथीसँग क्रिकेट हेरेर फर्किएका थिए । तर, त्यही दिन राति किन त्यस्ता घटना भयो ? परिवार र आफन्तले यसको जवाफ अझै पाउन सकेका छैनन् । पक्राउपछि मिलन आचार्यलाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर भक्तपुरमा ल्याएर कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको भक्तपुर जिल्लाका प्रहरी उपरीक्षक माधवप्रसाद बढाथोकीले जानकारी दिए ।

प्रहरी वृत्त थिमिमा जाहेरी दिन र घटनाको सत्यतथ्यको गहिराइमा पुगेर अनुसन्धानको माग गर्न पुगेका मृतकका परिवारजन र आफन्तले जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफ्नै बाबु र भाइका कारण तनाव महसुस भइरहेको र लोक सेवा आयोगको परीक्षा असफल भएपछि झनै तनाव बढेकाले दुवै जनाको हत्या गरेपछि आफूले पनि आत्महत्या गर्न खोजेको तर नसकेपछि फरार भएको भन्ने बयान मिलनले दिएका छन् ।

यसैगरी, शनिबार राति बुबा र भाइको हत्या आइतबार बिहान करिब ३ बजेतिर कोठामा ताल्चा मारेर बाहिरिएको र स्कुटर लिएर गएपछि प्रहरीले चौतर्फी खोजी गर्नेक्रममा मंगलबार महाराजगञ्जमा मिलनलाई पक्राउ गरी उनीमाथि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व

  काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

  काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी