दाम्पत्यको शत्रु : ‘मपाईपन’
डा. गोविन्दशरण उपाध्याय ।
केवल आफ्नो ‘अहङ्कार’का कारण अनाहकमा दम्पत्य सुख वा पतिपत्नीका बीचमा विवाद भएर पारपाचुकेसम्म पुगेका घटनाहरूका धेरै उदाहरण छन् । उदाहरणका लागि एकजना ३५ वर्षीय महिला आफ्नो लोग्नेसंग रिसाउनु भयो किनभने श्रीमानले आफन्तहरूका सामु ‘तिमीले पनि घरमै बसेर केही आयआर्जनको योजना बनाउन सक्छौं’ भनेर आफूलाई ‘केही गर्न नसक्ने, बसेर खाने, लोग्नेको कमाइमा रमाउने र परिवारका लागि बोझका रूपमा बुझाएको उनको दावी छ । घर फर्केपछि उनभि श्रीमानसँग आफ्नो ‘अपमान’ भएको कुरा राखिन् । यो सुनेर श्रीमानले हाँस्दै तुरुन्त क्षमा पनि मांगे । तर श्रीमती ३५ को मनमा सधैं श्रीमानले आफुलाई ‘हेला गरेको, बोझ ठानेको’ अनुभूति हुन्छ ।
एकदिन श्रीमानसँग यिनै विषयमा भनाभन हुँदा ‘तिमी यस्तै जिद्दी छौँ, लौ, मैले क्षमा माग्दा पनि तिमीले मलाई बुझ्न सकेनौं । तिमी साच्चिकै बेकाम्मे छौँ’ भने पछि अव श्रीमती ३५ को लक्ष कुनै पनि हालतमा श्रीमानलाई ‘देखाइदिने’ र देखाउन नसके सम्बन्ध विच्छ्देद गरेर आधिसम्पति लिने निर्णयमा पुगेकी छन् । तर साथै, श्रीमती ३५ लाई आफुले गरिरहेको काम ‘परिवार र आफ्नै लागि पनि अनुचित छ’ भन्ने डर पनि छ ।
श्रीमती र श्रीमानका विचको सम्बन्ध केवल यौनजन्य क्रियाकलाप, घरायसी काममा सहयोग, केटाकेटी जन्माउने/हुर्काउने वा लोग्नेस्वानीका रूपमा सामाजिक, सांस्कृतिक, धार्मिक तथा अन्य क्रियाकलापमा सक्रिय सहभागिता जनाउनेसम्म सीमित छैन । मूलतः पतिपत्नी आपसमा सबैभन्दा नजिकका हितैषी मित्र पनि हुन् । मित्रतामा यदाकदा रमाइलो गर्नकै लागि पनि जानाजान चित्त नबुझ्ने कुरा गरिन्छ र व्यबहार पनि गरिन्छ । ११ वटा सन्तान जन्मिएपछि श्रीकृष्णले एक दिन रुक्मिणीलाई रमाइलो गर्दै भने ‘तिमीजस्ती राजकुमारीको विवाह राजकुमार शिशुपालसँग हुनुपर्थ्यो तर एउटा गोठालोसँग भयो । आज पनि तिमी शिशुपालसँग विवाह गर्न स्वतन्त्र छौं । रुक्मिणीले मनमा सोच्दै नसोचेको ‘रमाइलो’ निकै पीडादायक बन्यो । पछि कृष्णले भन्नुभयो, “पतिपत्नी असल मित्र पनि हुन् । मैले केवल रमाइलोका लागि यो कुरा भनेको हुँ । त्यसका लागि क्षमा माग्छु । एकान्तमा होस् वा आफन्तका बीचमा यदाकदा पति वा पत्नीबाट अपशब्द नै निस्किए पनि ‘अपवाद’ वा ‘मित्रतापूर्ण रमाइलो ठानेर’ मनमा लिनु हुँदैन ।
अहिलेको समाज श्रीकृष्णको युगमा छैन । आवश्यकता, बुझाई, परिवेश तथा मान्यताहरू बदलिएका छन् तर पतिपत्नीको सम्बन्ध र पतिपत्नीलाई जोड्ने मित्रताको सम्बन्ध जस्ताको तस्तै छ । आज पनि पत्नी पतिको सबैभन्दा असल मित्र छन् भने पत्नीको लागि पतिजस्तो असल मित्र अर्को छैन । अहङ्कार धेरै दुष्ट हुन्छ । जिद्दीपन. हेपाहापन, दम्भ र रीस अहङ्कारका आवरण हुन् । जीवनलाई पूर्णतया अहङ्कार रहित बनाउन सकिन्न तर पतिपत्नीको सम्बन्धका विचमा अहङ्कारको उपस्थिति जति थोरै भयो उतिनै राम्रो हुन्छ । अभिमानी लोग्नेले पत्नीको मीठो माया गुमाउँछ भने अहंकारी श्रीमतीले पतिको मृदु–कोमलता गुमाउँछ । जिद्दीवालले धेरै थोक गुमाएका हुन्छन् । पति होस् चाहे पत्नी एकआपसी सम्बन्धलाई सुमधुर बनाउनका लागि जिद्दीपन, अहङ्कार वा हेपाहापनलाई आफूबाट सकेसम्म टाढा नै राखेको उचित हुन्छ ।
यदि पति वा पत्नीले नियतवस र नियमित रूपमा श्रीमती ३५ लाई झैं व्यबहार गरिरहेका छन् भने पति गलत छन् तर कुनै परिवेश र सन्दर्भ विशेषमा बोलिएका शब्दका लागि क्षमा मागिसकेपछि श्रीमती ३५ को रीसको अर्थ रहन्न । पति वा पत्नी दूवैले ‘घटना’लाई ‘आयोगयो’ बनाउनु उचित हुन्छ । एउटा शब्द, एउटा घटना वा एउटा परिवेशले मायाको अन्त्य खोज्नु उचित हुँदैन । पति र पत्नी दूवैले क्षमाको अभ्यास गर्नु पर्छ भने एकआपसमा सम्मान जनक व्यवहार गर्ने र क्षमा माग्ने अभ्यास उचित नै हुन्छ । बारम्बार गल्ती गर्ने र क्षमा माग्नेहरूले आफुलाई सुधार्नु पर्छ । वारम्वार उही प्रकृतिका गल्ती दोहोरिन्छन् भने त्यस्तो गल्तीलाई गल्ती भन्न मिल्दैन ।
जिद्दीपन, मपाईपन, अहङ्कार, हेपाहापन, रीसआदि प्राकृतिक संवेगहरू हुन् । कुनै पनि व्यक्ति यी संवेगहरूबाट पूर्ण मुक्त हुन सक्दैन तर विवेकशील दृष्टिकोणको विकास गरेर, उपरोक्त संवेगहरूलाई व्यवस्थित गर्न सकिन्छ । उदाहरणका लागि कुनै परिवेशमा श्रीमती श्रीमानसँग रिसाउन सक्नुहुन्छ तर अर्को परिवेशमा त्यही श्रीमतीले आफ्ना श्रीमानसँग विनम्रतापूर्ण तवरले क्षमा मागेको पनि हुन्छ । पतिपत्नीका बीचमा गरमनरमको सम्बन्ध हुन्छ तर गरमनरमलाई समयपरिवेशको उपज ठानेर एकअर्कालाई सम्मान गर्ने र इगोलाई होइन प्रेमलाई महत्व दिने हो भने दाम्पत्य जीवन सुखमय हुन्छ । विवाहका आरम्भिक दिनमै पतिपत्नीले ‘अहङ्कार’को न्यूनतम उपयोग गर्ने सहमति हुने हो भने स–सानो घटनाले दम्पत्य जीवनको सुखलाई अन्त्य गर्न सक्दैन । ठूलो कुरालाई पनि सानो रूपमा बुझ्नेहरूको दाम्पत्य निकै खँदिलो हुन्छ । खँदिलो दाम्पत्य नै जीवनको असली रस हो । यस्तो सरस जीवनका लागि ‘विवेकशीलता’ सबैभन्दा महत्वपूर्ण हुन्छ । स्वास्नीपनको जिद्दी र लोग्नेपनको अहङ्कारले सबैभन्दा बढी नोक्सान आफ्नै दाम्पत्य जीवनमा गर्छ । सजग रहौं, सचेत रहौं र प्रेमपूर्ण दाम्पत्य जीवनको लागि सक्रिय रहौं । स्वस्तिअस्तु