सबै विवेकी बन्ने हो भने हिरासत र पुलिस नै किन चाहिन्छ र !



नारायण गाउँले ।
हिरासतमा आजभोलि सीसीटिभी सामान्य रहेछ । बेलायतमा त ट्वाइलेटमा समेत सीसीटिभी जोडिएको हुने रहेछ । यसले आरोपित र प्रहरी दुबैलाई सुरक्षित बनाउने रहेछ । नेपालमात्रै होइन, विश्वका धेरै देशमा हिरासतभित्रै गैरन्यायिक हत्या, टर्चर र हिंसात्मक घटनाका इतिहास छन् । हिरासतभित्रै गायब पारिएका या ’थर्ड डिग्री टर्चर’ दिएर जबर्जस्ती आरोप स्वीकार गर्न लगाइएका घटना छन् । अनि हिरासतभित्रै अत्यधिक स्ट्रेस, पहिलेकै स्वास्थ्य समस्या र डरका कारण हृदयाघात, स्ट्रोक या आत्महत्याजस्ता कारण मृत्यु हुने घटना पनि उल्लेख्य छन् । यस्तोमा सोझै प्रहरीमाथि आरोप लागेर तिनले जागिर गुमाएका घटना पनि छन् । प्रहरीमाथिका हिंसात्मक घटना पनि छन् ।

यी दुबै खाले घटनालाई सीसीटिभीले उल्लेख्य रूपमा सम्बोधन गर्न सक्छ । अर्थात् यसले आरोपितलाई हिंसाबाट सुरक्षा दिन्छ भने प्रहरीलाई पनि दुर्व्यवहारको सम्भाव्य आरोपबाट बचाउन मद्दत गर्छ । देशका सबै प्रहरी हिरासत कक्षमा यो सुविधा पुगेको होला कि नहोला ? आजभोलि केही निरङ्कुश शासन भएका देशबाहेक प्रायः धेरै देशमा गैरन्यायिक हिरासत अर्थात्, पक्रिने, पक्राउको सूचना र कानुन व्यवसायीसम्मको पहुँच पनि नदिने अनि अदालतसमेत नलगी थुनेर राख्ने काम एकदम कम सुनिन्छ ।
तर हिजो नेपालमैं पनि धेरैले यस्तो कष्ट बेहोरेका छन् । हजारौँ नागरिक हिरासतबाट गायब भएका छन् । आजका धेरै नेताहरूले यस्तो ’कैद’ नेपालमैं पनि बिताएका छन् । माओवादीकै कतिपय नेता हिरासतबाटै गायब भएको सुनिएको थियो । माओवादी आफैले कति नागरिकलाई गायब बनाएको थियो । तिनलाई न अदालत लगियो, न मुद्दा दर्ता भयो । त्यतिबेला सीसीटिभी भइदिएको भए ?

धन्न आज त्यस्तो अवस्था छैन । हिरासत सम्बन्धी कानुनहरू छन् । शासकको लहडकै भरमा कसैलाई पक्राउ गर्ने र गायब पार्ने अवस्था छैन । अदालतबाट पक्राउ पुर्जी लिने, दुबै पक्षका कानुन व्यवसायीबाट बहस गराउने अनि समय थप्ने काम हुन्छ । बन्दी प्रत्यक्षीकरणका प्रावधान छन् । हरेक एकदुई हप्तामा हिरासतभित्र राख्न पर्ने कारणबारे न्यायालयलाई चित्त बुझाउनुपर्छ । भारतीय सिनेमाका जस्ता हिरासतभित्र थर्ड डिग्री टर्चरका घटना सुनिन्नन् । सेलमा सीसीटिभी जडान गरिएका रहेछन् । यो ठूलो उपलब्धि हो । कतिपय ठूला देशमा पनि यस्तो छैन । आफ्नै अनुभव र विश्वका अभ्यासहरू हेरेर कानुनलाई अझ परिमार्जन गर्न सकिन्छ ।

पक्राउ पर्नु भनेकै मानवअधिकार सङ्कुचन हुनु हो । सस्पेन्ड हुनु हो । नत्र स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउनु, बोल्न र भेटघाट गर्न पाउनु हाम्रो हक हो । तर पक्राउ पर्दा सबैभन्दा पहिले स्वतन्त्रता निलम्बन हुन्छ । कसैको स्वतन्त्रता निलम्बन हुने यस्तो कार्यलाई सकेसम्म कम र अन्तिम विकल्पका रूपमा प्रयोग गर्नुपर्ने विषयमा हाम्रो कानुनमा कमजोरी छन् । अझै पनि पक्राउ नै पहिलो विकल्पका रूपमा छ । जाहेरी पर्नेबित्तिकै पक्रिने अभ्यास छ । पक्रेपछि बल्ल अनुसन्धान शुरू हुन्छ । केही अनुसन्धान त गोप्य रूपले आरोपीलाई थाहा नै नदिई पनि हुन सक्छन् भन्ने छैन । एकै प्रकृतिको मुद्दामा हरेक जिल्ला या क्षेत्रमा जाहेरीपिच्छे छुट्टाछुट्टै अनुसन्धान गर्नुपर्ने वर्तमान कानुन पनि व्यावहारिक देखिएन ।

त्यसमाथि पक्राउ पर्नेबित्तिकै सम्पूर्ण नागरिक र मानवअधिकार जफत हुने होइन । न्यूनतम रूपमा त्यस्तो हक खोसिने र अधिकतम हक सुरक्षित हुने गरी सम्बन्धित निकायले अभ्यास गर्नुपर्छ । कानुनले मात्रै सबै कुरा सम्बोधन नहुन सक्छ । विवेक पनि चाहिन्छ । उसो त सबै विवेकी बन्ने हो भने हिरासत र पुलिस नै किन चाहिन्छ र ! सरकारहरू अस्थायी छन् । वर्ष दिन नहुँदै फेरिन्छन् । तर प्रहरी त स्थायी संरचना हो । कानुनी राज्य निर्माण गर्न यो संस्था सबैलाई चाहिन्छ चाहिन्छ । यसको मनोबल गिर्न नदिई आवश्यक सुधार गर्दै जान सकिन्छ कि ? नयाँ नेपाल भनेको आजसम्मका उपलब्धिको रक्षा गर्दै नयाँ सम्भावनाको खोज र प्राप्ति नै त होला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेखा समितिका सभापतिले राजीनामा नदिए संसद् बहिस्कार गर्नेसम्मको माओवादीको चेतावनी

काठमाडौं । प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामालाई प्रतिष्ठाको विषय

सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना

पर्वत।  गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा

जलपर्यटन: ‘भर्जिन ल्याण्ड’ सुदूरपश्चिमले फर्काउन सक्छ लय

काठमाडौं । ‘भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ ! यस्तै नियति

कालीगण्डकी कोरिडोरअन्तर्गत मार्फाखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत