वाइडबडीसम्बन्धी विशेष अदालतको फैसलाप्रति के भन्छन् कंशाकार ?


काठमाडौं । नेपाल वायु सेवा निगमका पूर्वमहाप्रवन्धक सुगतरत्न कंशाकारले विशेष अदालतको फैसलाले विदेशी एयरलाइन्सलाई पोस्न थप मलजल गरेको टिप्पणी गरेका छन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा विशेष अदालतले आफूलाई करार गरेपछि कंशाकारले यस्तो टिप्पणी गरेका हुन् । उनले वाइडबडी ‘काण्ड’सम्बन्धी विशेष अदालतको चर्चित फैसलाबाट भविष्यमा विमान खरिद गर्ने पदाधिकारीहरु तर्सने हुँदा यो विदेशी एयरलाइन्सलाई पोस्ने कामलाई मलजल थपिदिएको पनि एक धरातलीय यथार्थ भएको बताए ।

उनले भनेका छन्, ‘म निगमको CEO हुँदा गरेको दुईवटा ग्लोबल टेण्डर दुबैमा संसदिय समितिहरु र अख्तियारले छानविन गरेपछि देशभर हल्लाखल्ला भयो । २४ वटा मन्त्रालय र ४३ वटा अरु सार्वजनिक संस्थाहरुको अन्य धेरै खरिद कार्यहरुमा भन्दा विमान खरिद टेण्डरमा मात्र बढी चर्चा किन हुने गरेको होला भनि विश्लेषण गर्न जरुरी छ। निगममा विमान थप्दै निगमको business volume बढाउँदै विदेशी एयरलाइन्सहरुसँग प्रतिस्पर्धा गर्दै गएपछि मात्र निगमको व्यापार breakeven मा पुग्ने सामान्य ज्ञानको कुरा हो । एक फाइभस्टार होटेल ४० कोठाको छ भने घाटामा जाने निश्चित छ, र कोठा थप्दै business volume  बढाउँदै एक दिन breakeven मा पुर्याउने लक्ष लिएर अघि बढ्नैपर्ने हुन्छ। तर, विडम्बना विदेशी एयरलाइन्सलाई पोस्ने काम जारी नै छ; यो काम जारी रहेसम्म नेपाल एक संसारकै महँगो हवाई गन्तब्य भइनै रहनेछ । यो काम जारी रहेसम्म विमानस्थलको शौचालय जतिसुकै सफा गरेपनि पर्यटक संख्या उल्लेखनीय रुपमा नबढ्ने निश्चित छ; र वाइडबडी ‘काण्ड’सम्बन्धी विशेष अदालतको चर्चित फैसलाबाट भविष्यमा विमान खरिद गर्ने पदाधिकारीहरु तर्सने हुँदा यो विदेशी एयरलाइन्सलाई पोस्ने कामलाई मलजल थपिदिएको पनि एक धरातलीय यथार्थ हो ।’

गत बिहीबार विशेष अदालतले वाइडबडी प्रकरणमा चार जना नेपालीसहित केही विदेशी नागरिकलाई कैद र जरिवाना फैसला गरेको छ । अदालतले सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको हो । कंशाकारमाथि दुई वर्ष नौ महिना कैद सजाय भएको छ । तर कंसाकारलाई जम्मा दुई वर्ष नौ महिना कैद सजाय भएपनि उमेर ७४ वर्ष पुगिसकेको हुनाले ज्येष्ठ नागरिकले पाउने सुविधा अनुसार उनले कैदमा ५० प्रतिशत छुट पाउने छन् ।

यसैगरी अधिकारी, ढुङ्गाना र लामिछानेमाथि एक वर्ष छ महिना कैद सजाय भएको छ । दोषी ठहर भएका अधिकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव थिए । विभागीय मन्त्रालयको सचिव भएकैले अधिकारीमाथि थप तीन महिना कैदसमेत भएको छ ।