कास्कीको मादीमा ४३ मेगावाटको अपर मादी–० खोला जलविद्युत आयोजना निर्माण सुरु
कास्की । कास्कीको मादी गाउँपालिकामा ४३ मेगावाट क्षमताको अपर मादी–० खोला जलविद्युत आयोजना निर्माण सुरु गरिएको छ ।
सोमबार सांसदद्वय मन बहादुर गुरुङ र डा. स्वर्णिम वाग्लेको प्रमुख आथित्यतामा आयोजनाको शुभारम्भ गरिएको हो । वैदिक सनातन विधि र गुरुङ परम्परा अनुसार पुजाआजा गरी आयोजनाको शुभारम्भ गरिएको थियो । अन्नपुर्ण पावर कम्पनीले आयोजना निर्माण गर्न लागेको हो ।
कार्यक्रममा सांसद मनबहादुर गुरुङले स्थानीय जनताले आफ्नो क्षेत्रमा अगाडि बढाउन लागिएका यस्ता आयोजनालाई हर तबरबाट सहज बनाउनुपर्ने साथै आयोजनामा रोजगार लगायतका विषयमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताए ।
सांसद डा. स्वर्णीम वाग्लेले विकास निर्माण भाषणले मात्रै नहुने बताए । उनले यसका लागि नीति निर्माण तहमा रहनेहरुले काम गर्नका लागि सहज वातावरण बनाउनुपर्ने बताए । सरकारले भारत तथा बंगलादेशलाई विद्युत निर्यात गर्ने सम्झौता गरिसकेको अवस्थामा यस्ता आयोजनाहरु निर्धारित समयमा नै सम्पन्न गर्न सक्दा मात्र निर्यात सम्भव हुन सक्ने बताए ।
मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले आफ्नो पालिका भित्र आउने विकास निर्माणका काम तथा जलविद्युत आयोजनाहरुलाई पालिकाले स्वागत गर्ने र काम गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले आयोजनाबाट स्थानीय पालिकालाई रोयल्टी समेत प्राप्त हुने र स्थानीयले सीप अनुसारको रोजगार पाउने बताए ।
मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चरका कार्यकारी प्रमुख वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले यो योजनाको सुरुङ निर्माण, पावर हाउसलगायतका महत्वपुर्ण कामहरु जमिन भित्रै गरिने हुँदा नेपालमा जलविद्युत उत्पादनमा नयाँ अभ्यासको शुरुवात समेत भएको बताए । उनले आयोजना वातावरणमैत्री समेत हुने, स्थानीय जनतालाई समेत लगानीकर्ता बनाउन आह्वान गरिएको र सबै कादारहरुलाई समेत आयोजनामा शेयरधनी बनाउने हुँदा यसमा अपनत्वसहित काम हुने बताए ।
आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा अन्य पाँच वटा बैंकको संयुक्त लगानी रहेको छ । ४२ महिना भित्र आयोजना निर्माण पूरा गरी विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा विपत्ति बाहेकको अवस्थामा ३६ महिना भित्रै विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।
आयोजनाको प्रवर्द्धक कम्पनी अन्नपुर्ण पावर कम्पनीकी सञ्चालक शिला कोइरालाले स्थानीय जनता, कम्पनीको सिंगो परिवार, सरोकारवाला निकायहरुसँगको समन्वयमा मात्र आयोजना निर्धारित समयमा सम्पन्न हुन सक्ने भएको हुँदा सबैसँग सहज वातावरणका लागि अपेक्षा समेत रहेको बताइन् ।
कार्यक्रममा गाउँपालिका वडाध्यक्षहरु, मादी सरोकार समितिका पदाधिकारीहरु, टोल संयोजकहरु, स्थानीय क्लवका प्रतिनिधि, स्थानीय विद्यालयका प्रधानाध्यापक, अन्नपूर्ण संरक्षण क्षेत्र सिक्लेसका इलाका प्रमुख, सिक्लेस स्वास्थ्य चौकीका प्रमुख, पण्डित, लामा, झाँक्रीलगायतको उपस्थिति रहेको थियो ।